तपाईँ सुन्दै हुनुहुन्छः

खोलाको कटानले सिङ्गो गाउँ नै उच्च जोखिममा

अछाम । अछाममा खोलाको कटानले गर्दा सिङ्गो एक गाउँ पहिरोको उच्च जोखिममा रहेको छ ।  

असोज ३१ गते आइतबार देखि करिब ३ दिन लगातार परेको अविरल वर्षाका कारण साँफेबगर नगरपालिका वडा नम्बर १० आर्दली गाडमा आएको बाढीले कटान गर्दा सिङ्गो गाउँ नै पहिरोको जोखिममा परेको हो ।

नगरपालिका वडा नं १० घुघुरकोटको संङ्ग्रातोलि गाउँ पहिरोको उच्च जोखिममा परेको स्थानीय एकेन्द्र महताले बताउनुभयो । आर्दलीगाडले कटान गरेपछि करिब ४० घर पहिरोको उच्च जोखिममा परेका छन् ।

खोलाबाट गाउँतर्फ करिब १ किलोमिटर जति पहिरो गइसकेको अब गाउँमा पहिरो पुग्न करिब २ सय मिटर मात्रै बाँकी रहेको स्थानीय कम्मान सिंह खड्काले जानकारी दिनुभयो ।

खड्काका अनुसार अब गाउँ नै पहिरोले बगाउन सक्ने हुँदा पहिरो नियन्त्रणका लागि पहल गरिदिन आग्रह गर्नुभयो ।

वर्षाले ठुलो पहिरो गएको र अब खोलाले जमिन कटान गरिरहेको स्थानीयले बताएका छन् ।

हालैको बेमौसमी वर्षाका कारण अछाम जिल्लामा एक बालिकाको ज्यान जानुका साथै घर, खेतिबाली, तरकारी, पशु चौपाया, सडक, विद्युत्, खानेपानी लगायतमा ठुलो क्षति भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button