तपाईँ सुन्दै हुनुहुन्छः

बाजुरामा भेरोसेल खोप लगाइँदै

मार्तडी । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पहिलो चरणमा भेरोसेल खोप लगाएका यहाँका २३ हजार ९५ जनालाई दोस्रो चरणको खोप बिहीबारबाट लगाइँदै छ । 

कोरोना विरुद्धको खोप अभियान यही कात्तिक ११ देखि १३ गतेसम्म सञ्चालन गरिने स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो ।

उहाँका अनुसार पहिलो चरणमा भेरोसेल खोप लगाइएका १८ वर्ष माथिका नागरिकलाई मात्र दोस्रो चरणको खोप लगाइने छ । 

खोपको मात्रा जिल्लामा कम भएकाले २३ हजार ९५ जनालाई मात्र खोप लगाइने र नयाँ खोप लगाउन इच्छुक नागरिकलाई खोप लगाउन सम्भव नभएको वरिष्ठ जनस्वास्थ्य अधिकृत पन्तको भनाइ छ । 

बिहीबारबाट सुरु हुने कोरोना विरुद्धको खोप जिल्लाका ६९ वडाका ८४ खोप केन्द्रमार्फत लगाइने स्वास्थ्य कार्यालय बाजुराका खोप सुपरभाइजर तथा सूचना अधिकारी महेश चन्दले जानकारी दिनुभयो । 

सबै पालिकामा दोस्रो चरणको कोरोना विरुद्धको खोप भेरोसेल पुगिसकेकाले बिहीबारबाट सञ्चालन हुने उहाँले जानकारी दिनुभयो । जिल्लका नौ पालिकाका १३ हजार ८९४ महिला र नौ हजार २०१ पुरुष गरी २५ हजार ९५ जनालाई दोस्रो चरणको कोरोना विरुद्धको भेरोसेल खोप लगाइने खोप सुपरभाइजर चन्दले बताउनुभयो । 

कुन पालिकामा कति जना ?जिल्लाका नौ पालिकामा एकैसाथ कोरोनाविरुद्धको खोप सञ्चालन गरिने भएको छ । 

नौ पालिकाका २३  हजार ९५ जनाले दोस्रो चरणको खोप लगाउन पाउने भएका छन् । यहाँका बडीमालिका नगरपालिकामा एक हजार ८६७ महिला र एक हजार २३३ पुरुष गरी तीन हजार एक जनाले भेरोसेल खोप लगाउने भएका छन् ।

यस्तै बूढीगङ्गा नगरपालिकामा दुई हजार ११० महिला र एक हजार २३८ पुरुष, त्रिवेणी नगरपालिकामा दुई हजार १८३ महिला र एक हजार २१८ पुरुष, खप्तड छेडेदह गाउँपालिकामा एक हजार ६६६ महिला र एक हजार ५० पुरुष, गौमुल गाउँपालिकामा एक हजार  २३३ महिला र ८१९ पुरुषले खोप लगाउन पाउने व्यवस्था गरिएको स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताउनुभयो । 

उहाँका अनुसार बूढीनन्दा नगरपालिकामा दुई हजार ४४८ महिला र एक हजार ७१८ पुरुष, स्वामिकार्तिक खापर गाउँपालिकामा ८७४ महिला र ६५३ पुरुष, हिमाली गाउँपालिकामा ६७८ महिला र ६४९ पुरुष, जगन्नाथ गाउँपालिकामा ८३५ महिला र ६२३ पुरुषले पनि सो खोप लगाउने भएका छन् । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button