तटबन्धन गर्ने बजेट फ्रिज, स्थानीय जोखिम मोलेर बस्न बाध्य

तनहुँ । तनहुँको भिमाद नगरपालिकास्थित सेती नदीमा गर्नुपर्ने तटबन्धनको काम समयमा गर्न नसक्दा एक करोड रुपैयाँ बजेट फ्रिज भएको छ ।
गण्डकी प्रदेश सरकारद्वारा जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले कार्यान्वयन गर्ने गरी गत आर्थिक बर्ष २०७७/०७८ मा तटबन्धन गर्न उक्त रकम विनियोजन भएको गरेको थियो ।
सेती नदीको कटानका कारण भिमाद बजार क्षेत्र जोखिममा परेपछि तटबन्धन गरेर जोखिम कम गर्ने भनिएता पनि समयमा ठेक्का लगाउन नसक्दा विनियोजित रकम फ्रिज भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय तनहुँले जनाएको छ ।
बजार क्षेत्रलाई कटानबाट जोगाउन भन्दै गत बर्ष भिमाद नगरपालिका झण्डै २० करोडको डिपिआर बनाएर कार्यालयमा बुझाएको थियो ।
उक्त बजेटलाई केही घटाएर कार्यालयले १७ करोडको डिपिआर तयार गरी योजना स्वीकृत गर्न गत वर्षको जेठमा प्रदेशका तत्कालीन भौतिक पूर्वाधार मन्त्रालय हालको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयलाई अनुरोध गरेको थियो ।
तर मन्त्रालयले भने अहिलेसम्म उक्त योजना स्वीकृत नगरेको डिभिजन कार्यालयका प्रमुख रमेशराज शर्माले जानकारी दिनुभयो ।
आयोजनका कुल बजेटको पाँच प्रतिशत टेन्डर आह्वान गर्नका लागि आवश्यक पर्ने भए पनि सङ्घबाट ३० लाख र प्रदेशबाट ३० गरी जम्मा ६० लाख प्राप्त भएकाले यस वर्षमा टेन्डर आह्वान गर्न समस्या हुने प्रमुख शर्माले बताउनुभयो ।
सरकारले टेन्डर प्रक्रियामा जान आवश्यक रकम विनियोजन गरे आयोजनाका काम तत्काल अघि बढ्ने अन्यथा अस्थायी प्राप्त बजेटको सदुपयोगका लागि अस्थायी तटबन्धनको काम अघि बढाइने उहाँले बताउनुभयो ।
बर्षेनी बढेर आउने आउने सेती नदीको कटानका लागि भिमादको कुमारचोक क्षेत्र कटानको उच्च जोखिममा रहेको छ ।
जोखिम मोलेरै केही स्थानीयहरू दिनभर व्यापारका लागि बस्ने गरेका छन् । अधिकांश स्थानीय भने आफ्ना घर बास छोडेर अन्यत्र सुरक्षित स्थानमा सरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्