नेकपा (एस) ले ३ महिने सङ्गठन बिस्तार अभियान चलाउने
बैतडी । नेकपा (एकिकृत समाजवादी) पार्टी बैतडीको विस्तारित बैठक सम्पन्न भएको छ । शुक्रवारदेखि जिल्ला सदरमुकाममा बसेको बैठकले केही महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गर्दै बैठक समापन गरेको छ ।
पार्टीले बैतडीमा ३ महिने सङ्गठन बिस्तार अभियान चलाउने जनाएको छ । सङ्गठन बिस्तार अभियान अन्तरगत पालिकाका कमिटीहरू गठन गर्ने, अहिले गठन प्रक्रियामा रहेका वडा कमिटी गठनलाई निरन्तरता दिने, जनवर्गिय सङ्गठनहरू बिस्तार गर्ने, नयाँ सदस्यता थप गर्ने तथा पुरानालाई नवीकरण गर्ने बताइएको छ ।
आयोजित पत्रकार सम्मेलनमा पार्टीका पोलिटब्युरो सदस्य तथा बैतडी जिल्ला इन्चार्ज प्रमानन्द भट्टले अबको ३ महिना गठन बिस्तार र सुदृढीकरणमा लाग्ने बताउनुभयो ।
जिल्ला कमिटीको बैठकले जिल्ला सचिवालय गठन गर्ने तथा जिल्ला कमिटी सदस्यहरु थप गर्ने निर्णय गरेको छ । सचिवालय सदस्यको टुङ्गो लगाउने जिम्मेवारी जिल्ला कमिटीका पदाधिकारीहरूलाई दिइएको छ ।
जिल्ला पदाधिकारीहरूले नै स्थानीय तहका इन्चार्जहरू तोक्नुका साथै जनवर्गिय सङ्गठनका इन्चार्जहरू समेत तोक्ने निर्णय गरेको छ । सचिवालय सदस्यमा यसअघि नेकपा एमालेमा छँदा सचिवालय सदस्य र जिल्ला कमिटी सदस्य रहेका व्यक्तिलाई स्वतः समावेश गर्ने र जिल्ला कमिटी सदस्यहरूको टुङ्गो पदाधिकारी बैठकले लगाउने बताइएको छ ।
पार्टीले अहिले वर्षाका कारण बिपदमा परेका बैतडीवासीका पीडाहरू सरकार समक्ष पुर्याउने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै पूर्व प्रदेश मन्त्री तथा प्रदेश सभा सांसद मायाँ भट्टले अहिले प्रदेश सरकारमा आफ्नो पार्टीको बाहुल्यता रहेको र सङ्घ सरकारमा समेत आफ्नो पार्टी रहेकाले दुवै तहबाट बाढी पहिरो पीडितका समस्या समाधानका लागी पहल गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्