बीरगंज भन्सारद्वारा लक्ष्य भन्दा २० प्रतिशत बढी राजस्व असुली
बीरगंज । मुलुकको प्रमुख भन्सार नाकाको रुपमा स्थापित बीरगंज आईसिपी भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८/७९ को ३ महिना अर्थात् असोज मसान्त सम्ममा ५३ अर्ब ६ करोड ९२ लाख ८७ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।
भन्सार विभागले तोकेको लक्ष्य भन्दा पनि २० प्रतिशत बढी राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्व प्रसाद अर्यालले जानकारी दिनुभयो ।
कोरोना संक्रमण नियन्त्रणमा आएसँगै आयात निर्यात बढेपछि बीरगंज भन्सार कार्यालयलाई अर्थ मन्त्रालयले तोकेको लक्ष्य भन्दा पनि राजस्व असुली भएको प्रमुख भन्सार प्रशासक अर्यालले बताउनुभयो ।

बीरगंज भन्सार कार्यालयलाई अर्थ मन्त्रालय राजस्व विभागले ३ महिनामा ४४ अर्ब २८ करोड, ७१ लाख ३६ हजार राजस्व असुली गर्ने लक्ष्य दिएको थियो । लक्ष्य भन्दा ८ अर्ब ७८ करोड २१ लाख ५१ हजार बढी राजस्व असुली भएको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ ।
वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७८/०७९ को ३ महिनामा भन्सार राजस्वतर्फ १९ अर्ब ११ करोड २७ लाख ९६ हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ १९ अर्ब ६१ करोड ६७ लाख २४ हजार राजस्व असुली भएको छ ।
त्यसैगरी अन्त शुल्कतर्फ ७ अर्ब ६० करोड ९७ लाख असुली गरेको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक अर्यालले बताउनुभयो ।

त्यसैगरी बीरगंज भन्सार कार्यालयले पूर्वाधार करतर्फ ३ अर्ब ३९ करोड २० लाख ३२ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्कतर्फ ३१ करोड ८७ लाख ५० हजार असुली गरेको छ ।
यसैगरी वीरगन्ज भन्सार कार्यालयले सडक निर्माण तथा सम्भार दस्तुरतर्फ २ अर्ब २ करोड ६५ लाख ५३ हजार राजस्व असुली गरेको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
कोरोना नियन्त्रणमा आएसँगै चाडपर्वहरू भित्रिएपछि आयात निर्यात व्यापारमा वृद्धि हुँदा वीरगन्ज भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजस्व असुली गर्न सक्षम भएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्