अछाममा विद्युत् र टेलिफोन सञ्चालनमा, जनजीवन सहज बन्दै

अछाम । गत असोज ३० गते रातिदेखि अवरुद्ध अछामको विद्युत् सेवा सञ्चालनमा आएको छ ।
अविरल वर्षाका कारण असोज ३० गते राती देखि अवरुद्ध बिद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।
अविरल वर्षाका कारण डोटीको शान्तिनगर, उडितोला तथा मार्कु क्षेत्रमा अछाम आउने ३३ के।भी। प्रसारण लाइनको पोल तथा तार चुँडिएको थियो ।
शान्तिनगर, उडितोला क्षेत्रमा अछाम आउने ३३ के। भी। लाइनको ६ ओटा पोल, मार्कुमा ३ पोल पहिरोले ढलेका तथा धेरै स्थानमा रुख ढलेर लाइनमा परेका थिए ।
ठाउँ ठाउँमा खसेको पहिरोको कारण मर्मत कार्य गर्न गएको टोलीले सहज रूपमा काम गर्न नसक्दा समस्या भएको अछाम वितरण केन्द्रका स्टोरकिपर चित्रराज बजगाईँले बताउनुभयो ।
जसका कारण अछाम लगायत सुदूर पहाड अन्धकारमय बनेको थियो । लामो प्रयासपछि अछाममा पूर्ण रुपमा विद्युत् सेवा सञ्चालनमा आएको नेपाल विद्युत् प्राधिकरण अछाम वितरण केन्द्रले जनाएको छ । विद्युत् सेवा सँगै जिल्लामा नेपाल टेलिकमको टावरले समेत काम गर्न छोड्दा नागरिकहरूको जनजीवन कष्टकर बनेको थियो ।
विपद्कै समयमा बिद्युत्सँगै टेलिफोन सेवा अवरुद्ध हुँदा झनै समस्या भएको थियो । टेलिफोन सम्पर्कको अभावमा जिल्लामा एक अर्को ठाउँको अवस्था बुझ्न समेत समस्या हुँदा बाढी र पहिरोबाट भएको क्षतिको विवरण समेत सङ्कलन गर्न समस्या भइरहेको थियो ।
कुनै ठाउँमा अझै पनि टेलिफोनको समस्या कायमै रहेको गुनासो छ । जिल्लामा बिजुली बत्ती नहुँदा आम नागरिकसँगै व्यवसायी र सरकारी कार्यालयको कामकाज ठप्प रहेको थियो भने जिल्लामा सञ्चालित विद्युतीय सञ्चार माध्यम समेत बन्द रहेका थिए ।
अब हप्ता दिनदेखि बन्द रहेका जिल्लामा सञ्चालित ११ वटा एफएम रेडियो र पत्रपत्रिका प्रकाशन र प्रसारण हुने भएका छन् ।

विद्युत्, टेलिफोन र इन्टरनेट सेवाले सुचारु भए पनि अवरुद्ध सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन् । बाढी तथा पहिरोका कारण ग्रामीण सडकहरू अवरुद्ध हुँदा अछामबाट जिल्ला बाहिरिने तथा जिल्ला भित्रिनेहरूलाई समेत निकै सास्ती भइरहेको छ ।
वर्षामा अवरुद्ध बनेका सडक मर्मतका लागी विभिन्न पालिकाले तयारी गरिरहेका बोला कार्तिकमा भएको बेमौसमी वर्षाले ग्रामीण सडकको दुरावस्था बनाएको छ ।
लगातारको वर्षाका कारणले खोला किनार आसपास बसोबास गर्ने नागरिकको जनजीवन झनै कष्टकर भइरहेको छ । नदी किनारमा बढेको बहावका खानेपानीको नहर र पाइप समेत बगाउँदा खानेपानीको समेत समस्या भइरहेको छ ।
साँफेबगर आसपास बसोबास गर्ने स्थानीय खोलमा आउने धमिलो पानी पिउन बाध्य भएका हुन् ।








प्रतिक्रिया राख्नुहोस्