तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा तीन महिनामा सवारी दुर्घटनामा ३८ जनाको मृत्यु

चितवन । चालु आर्थिक बर्ष ०७८/०७९ तीन महिनामा सवारी दुर्घटनाबाट ३८ जनाको मृत्यु भएको छ भने २ सय १७ जना घाइते भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका अनुसार सवारी दुर्घटनाबाट  सबैभन्दा बढी असोज महिनामा २० जनाको मृत्यु भएको छ । 

यस्तै श्रावण महिनामा ११ जना र भाद्र महिनामा ७ जनाको मृत्यु भएको छ । 

त्यसैगरी, श्रावण महिनामा सवारी दुर्घटनाबाट ७५ जना, भाद्र महिनामा ७३ जना र असोज महिनामा ६९ जना घाइते भएका थिए । 

कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले असोज महिनामा चाडपर्व परेको र अत्यधिक सवारीको चाप हुँदा बढी लापरबाही देखिएकोले दुर्घटनासँगै मानवीय क्षति बढी भएको बताउनुभयो  । 

“चाडपर्वमा स्थानीय रुटदेखि लामो दुरीका यातायातको चाप पनि बढ्छ , उहाँले भन्नुभयो , चालकले तीव्र गति र मापसे गरेको पनि पाइयो ।”

सबैभन्दा बढी दुर्घटना भित्री सडकमा 
जिल्लामा हुने सडक दुर्घटना मध्ये सबैभन्दा बढी दुर्घटना भित्री सडकमा हुने गरेको पाइएको छ । 

तीन महिनामा भित्री सडकमा ६१ वटा सडक दुर्घटना भएका थिए । उक्त दुर्घटनामा १७ जनाको मृत्यु भएको थियो भने ६१ जना घाइते भएका थिए । 

यस्तै उक्त अवधिमा दोस्रो सबै भन्दा बढी पूर्व पश्चिम लोकमार्गमा ३२ वटा सडक दुर्घटना भएका छन् । जसमा १२ जनाको मृत्यु भएको थियो भने ६३ जना घाइते भएका थिए ।

कार्यालयका अनुसार तीन महिनामा नारायणगढ मुग्लिन सडक खण्डमा २८ वटा सडक दुर्घटना भएका छन् । उक्त दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका छन् । 

यस्तै पृथ्वी राजमार्गमा ६ वटा दुर्घटना भएकोमा ४ जनाको मृत्यु ८ जना घाइते भएका छन् र जिल्लाको सहरी खण्डका सडकमा ९ वटा सवारी दुर्घटना भएकोमा ११ जना घाइते भएका छन् भने सो अवधिमा कसैको मृत्यु भएको छैन । 

चालु आवको श्रावणदेखि असोजसम्म तीन महिनामा कुल १ सय ३६ वटा सवारी दुर्घटना भएका थिए । 

भित्री तथा ग्रामीण सडकमा ट्राफिक प्रहरीको पहुँच पनि नपुग्ने र गल्ली तथा त्यस्ता सडकमा चालकले जथाभाबी सवारी साधन चलाउने गरेका कारण मुख्य सडकहरूमा भन्दा बढी भित्री सडकमा दुर्घटना बढी हुने गरेको कार्यालय प्रमुख थापाको भनाई छ । 

“सहरी इलाकामा ट्राफिक प्रहरीको पहुँच पनि हुन्छ । निगरानी पनि बढी हुन्छ । चालक पनि सचेत हुन्छन्” उहाँले भन्नुभयो, “अर्को कुरा यहाँ सवारी साधनको तुलनामा हाम्रो जनशक्ति अत्यन्त न्यून छ ।” 

दुर्घटना बढेपछि चितवन ट्राफिकले हालैका दिनहरूमा चेकपोइन्ट, युनिट , जोखिमका क्षेत्रहरूमा २४ सैँ घण्टा नियमित चेक जाँचसँगै ट्राफिक सचेतनाका कार्यक्रम गरिरहेको थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button