प्रतिकुल मौसमका कारण पर्यटकहरूलाई तिलिचो ताल र थोराङ् जान रोक

मनाङ । असोज ३१ गते देखिको निरन्तर वर्षा र हिमपातका कारण हिमालपारि मनाङका अधिकांश सडकहरूमा जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय मनाङद्वारा अन्नपूर्ण पदमार्गअन्तर्गत थोराङ् र संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जान रोक लगाएको छ । मौसम अनुकूल नभएसम्म पर्यटकलाई गन्तव्यतर्फ जान रोक लगाइएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘अन्नपूर्ण पदमार्गमा पर्यटकीय सिजन सुरु भएसँगै थोराङ र तिलिचो ताल जाने पर्यटकको सङ्ख्या बढेको तर निरन्तरको वर्षाका कारण माथिल्लो क्षेत्रमा हिमपात भएकाले दुर्घटनाको जोखिम बढ्न सक्ने हुँदा पर्यटकलाई त्यसतर्फ जान रोक लगाइएको हो ।’
मौसममा सुधार नआएसम्मका लागि पर्यटकलाई मनाङको माथिल्लो क्षेत्रमा जान रोक लगाइएको छ भने माथिल्लो क्षेत्रमा पुगेका पर्यटकलाई जहाँको त्यही सुरक्षित अवस्थामा बस्न आग्रह गरिएको प्रजिअ आचार्यले बताउनु भयो । कोरोनाका कारण ठप्प रहेको पर्यटन व्यवसाय दसैँ बिदा मनाउन आएका आन्तरिक पर्यटक र सिजन सुरु भएपछि आएका विदेशी पर्यटकको आगमन बढेसँगै मनाङका पर्यटन व्यवसायी खुसी भएका थिए ।
तिलिचो ताल र थोराङ जान आएका आन्तरिक पर्यटक र विदेशी पर्यटकले मनाङका होटेल भरिभराउ भएको मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मौसममा खराबी आएकाले केही दिनका लागि पर्यटकलाई होटेलमै बस्न र मौसममा सुधार नआएसम्म नहिँड्न आग्रह गरेको बताए ।
निरन्तर वर्षाका कारण हिमाली जिल्ला मनाङ जोडने एक मात्र बेसिशहर चामे सडकसमेत अवरुद्ध भएको छ ।








प्रतिक्रिया राख्नुहोस्