पहिरोले घर पुरिँदा धनकुटाको चौबिसेमा ६ जनाको मृत्यु
धनकुटा । लगातारको वर्षासँगै आएको पहिरोले घर परिँदा धनकुटाको चौबिसे गाउँपालिका–१ स्थित बुधवारेबजारमा ६ जनाको मृत्यु भएको छ ।
गए राति अविरल वर्षासँगै गएको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा वर्ष ६० का भीमबहादुर श्रेष्ठ, वर्ष ९ को नाति विनोद श्रेष्ठ, वर्ष ५ की नाति निर्जला श्रेष्ठ, पाहुना आएका दमक नगरपालिका–११ का वर्ष ३९ का सञ्जीव श्रेष्ठ, वर्ष ३८ की लक्ष्मी श्रेष्ठ र वर्ष ७ का दिप्सन श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी दिपक कुमार रायाले बताउनु भयो । सोही घटनामा परी ६ जना घाइते भएका छन् । घाइते मध्ये वर्ष ३१ का भेषबहादुर श्रेष्ठ, वर्ष २९ की लिला श्रेष्ठ र वर्ष ५४ की गणितकुमारी श्रेष्ठको अवस्था गम्भीर रहेको डिएसपी रायाले बताउनु भयो ।
गम्भीर घाइते सहित अन्य घाइते भएका वर्ष ३३ का उषा श्रेष्ठ, वर्ष ११ को सञ्जाल श्रेष्ठ र वर्ष २८ को चन्द्रकुमार श्रेष्ठको उपचारका लागि हेलिकोप्टरबाट उद्धार गर्न सेनासँग समन्वय भइरहेको डिएसपी रायाले बताउनु भयो । घटनास्थल बुधवारे प्रहरी चौकीदेखि ४ किलोमिटर टाढा रहेको छ । यसैबीच सोही वडाको सौरेबजारका दिलीप गजमेरको घर पनि पहिरोले पूर्णरुपमा क्षति बनाएको छ । घर पुरै बगे पनि मानवीय क्षति भने नभएको चौबिसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचालले बताउनु भयो ।
यता वर्षासँगै आएको बाढीले सडक बगाउँदा कोसी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । साँगुरी गढी गाउँपालिका–६, फेदीमा २ सय मिटर सडक लेउती खोलाले बगाउँदा हिजो (मंगलबार) देखि नै सडक अवरुद्ध बनेको हो । अहिलेसम्म पानीको सतह नघटेकाले तत्काल बाटो खुल्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताउनुभयो । दर्जनौँ स्थानमा सडक भत्किएकाले पानीको सतह घटेपछि मात्र सडक डाइभर्सनको कार्य सुरु हुने प्रजिअ पन्थले बताउनु भयो ।
यसका साथै जिल्लाका सहायक राजमार्गहरू भेडेटार राजारानी नम्बर बुधवारे राँकै रबी सडक, तमोर कोरिडोर, हिले लेगुवा भोजपुर सडक पनि पूर्णरुपमा अवरुद्ध भएको छ ।









प्रतिक्रिया राख्नुहोस्