तपाईँ सुन्दै हुनुहुन्छः

तोडियो खानको आमरण अनसन

काठमाडौँ । बाँकेकी निर्मला कुर्मीको हत्या र नन्कुन्नी धोबीको बेपत्ता भएको घटनाबारे तत्काल अनुसन्धान सुरु गर्ने सरकारसँग सहमति भएपछि नेपालगन्जकी अधिकारकर्मी रुबी खानले आमरण अनसन तोड्नुभएको छ ।

गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा ६ सदस्यीय समिति बनाएर उक्त घटनाको सत्य तथ्य छानबिन गर्ने सहमति भएपछि आज खान अनसनरत स्थान माइतीघर मण्डलामा गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेल र राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारीले जुस खुवाएर अनसन तोडाउनुभएको हो ।

धोबीको मृत्यु र कुर्मी बेपत्ता भएको घटनामा सरकारसमक्ष आवश्यक छानबिनको माग गर्दै न्यायका लागि खान १२ दिनदेखि आमरण अनसन बस्नुभएको थियो । 

उक्त घटनाको छानबिनका लागि गृह मन्त्रालयका सहसचिव रेग्मीको संयोजकत्वमा सदस्यहरु नेपाल प्रहरीका प्रहरी उपरीक्षक रामप्रकाश शाह, अनुसन्धान विभागका उपनिर्देशक वीरेन्द्रसिंह कार्की, गृह मन्त्रालयका उपसचिव रामप्रसाद लम्साल, मुस्लिम समाज चेतना केन्द्रका अध्यक्ष मोहम्मद शेर बागवान र जिल्ला प्रशासन कार्यालय बाँकेका गरी छ सदस्यीय समिति गठन गरिएको छ ।

गृह प्रवक्ता पोखरेलले सहमतिमा ७ दिनभित्र उक्त घटनाको प्रतिवेदन तयार गरी बुझाउने सहमति र त्यसका लागि गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनरत पक्षसँग समितिको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button