खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न कार्यदल गठन हुने
काठमाडौँ । सरकारले सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली संशोधनको मस्यौदा तयार गर्न कार्यदल गठन गर्ने भएको छ ।
अर्थ मन्त्रालयमा सोमवार आयोजित बैठकले सार्वजनिक खरिद ऐन संशोधन गर्न सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव देवकुमारी गुरागाईँको संयोजकत्वमा मस्यौदा कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ, कानुन, भौतिक पूर्वाधार, सहरी विकास, ऊर्जा, वन, भूमि व्यवस्था मन्त्रालय लगायतका प्रतिनिधिहरू सदस्य रहनेछन् ।
कार्यदलले सार्वजनिक खरिद ऐन, नियमावली, बोलपत्र सम्बन्धी कागजात, निर्माण व्यवसायी महासङ्घसहित विभिन्न निकाय तथा विज्ञहरूबाट प्राप्त सुझावहरूको अध्ययन गरी १५ दिनभित्र मस्यौदा पेस गर्नेछ ।
सोमवार नै सार्वजनिक खरिद अनुगमन कार्यालयले ऐनमा संशोधन गर्नुपर्ने विषयहरूबारे प्रारम्भिक मस्यौदा प्रस्तुत गरेको थियो । सो प्रस्तावित मस्यौदामा सार्वजनिक निर्माणका लागि बोलपत्र पेस गर्ने साबिकको समय घटाउने प्रस्ताव गरेको छ ।
बैठकमा निर्माण व्यवसायी महासङ्घका प्रतिनिधिहरूले प्रस्तावित मस्यौदामा गरिएको व्यवस्था आफूहरूलाई स्वीकार्य भए पनि यति नै पर्याप्त नभएको भन्दै ३९ बुँदे संस्थागत सुझाव पत्र समेत पेस गरेका छन् ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक निर्माणको गुणस्तर, पारदर्शिता र प्रतिस्पर्धाको मर्मलाई ध्यान दिएर संशोधन प्रस्ताव तयार गर्नुपर्नेमा जोड दिँदै सार्वजनिक निर्माणमा परामर्शदाता छनौट गर्दा सम्भव भएसम्म स्वदेशी जनशक्तिलाई प्राथमिकता दिने गरी व्यवस्था गर्न समेत निर्देशन दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्