‘भिडभाड नगरी चाडपर्व मनाउन आग्रह’

अछाम । जिल्ला प्रशासन कार्यालय अछामले दसैँ, तिहार लगायतका चाडपर्वलाई भिडभाड नगरी मनाउने वातावरण तयार गर्ने योजना अघि सारेको छ ।
प्रशासनले कोरोना महामारी कायमै रहेको अवस्थामा सङ्क्रमणबाट बच्न भिडभाडरहित चाडपर्व मनाउनुपर्नेमा जोड दिएको हो ।
प्रशासनले चाडपर्वका बेला स्वास्थ्य सुरक्षा मापदण्डको पालनामा ध्यान दिन सबैमा अनुरोध गरेको छ । प्रशासनले चाडपर्वलाई मर्यादित र सुरक्षित बनाउन विशेष सुरक्षा योजना पनि तयार पारेर लागू गरेको छ ।
कोरोनाको सङ्क्रमण अझै पनि कायमै रहेकाले त्यसबाट बच्नको लागि सबैले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिनुपर्ने प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले बताउनुभयो ।
भिडभाडरहित एवं सुरक्षित र मर्यादित हिसाबले चाडपर्व मनाउने वातावरण तयार गर्न सबै पक्षसँग छलफल र समन्वय भइरहेको उहाँले बताउनुभयो ।
दसैँ सुरु भएसँगै विभिन्न मठमन्दिर, शक्ति पीठ र धार्मिक तीर्थस्थलहरूमा अत्यधिक भिडभाड हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले त्यही हिसाबको सुरक्षा व्यवस्था मिलाएको मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार भिडभाड रोक्न र सामाजिक दूरी कायम गराउन सुरक्षाकर्मीको विशेष टोली परिचालन गरिएको छ । प्रजिअ मल्लले तडकभडक र भिडभाड नगरीकन सामाजिक दूरी कायम गरी पर्वहरू मनाउन सबैमा आग्रह गर्नुभएको छ ।
धार्मिक तीर्थस्थल, भिडभाड बढी हुने स्थान, बैङ्क तथा वित्तीय संस्था, सार्वजनिक स्थल, आपराधिक घटना धेरै हुनसक्ने सम्भावित स्थानमा २४ घण्टा नै सुरक्षा व्यवस्था मिलाइएको जानकारी उहाँले दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी मल्लले पछिल्लो समय बजार अनुगमन पनि तीव्र पारिएको जानकारी दिनुभयो । नियमित बजार अनुगमन गर्दै दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउने प्रयास गरिएको उहाँले बताउनुभयो ।
चाडपर्वको मौकामा व्यापारीले सामानको मूल्य वृद्धि गर्ने र कालोबजारी गर्न सक्ने भएकाले कारबाही तीव्र पारिएको प्रजिअ मल्लले बताउनुभयो । सामान खरिद गर्दा ठगिएमा वा बजार मूल्यभन्दा बढी पैसा तिर्नु परेमा तत्काल प्रशासनलाई जानकारी गराउन उहाँले सबै उपभोक्तालाई आग्रह गर्नुभएको छ ।
बडा दसैँको प्रमुख दिन महाअष्टमीमा आज अछामका विभिन्न दुर्गा, कालिका मन्दिरमा पूजापाठ सहित बोका तथा राँगाको बलि दिई दसैँ मनाइँदै छ ।








प्रतिक्रिया राख्नुहोस्