तपाईँ सुन्दै हुनुहुन्छः

चौबिस घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन

भक्तपुर । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ । नेपालीहरूको महान् चाड दसैँ तिहारमा सडकका खाल्डाखुल्डीले यात्रुलाई समस्या हुने, सडक जाम हुने र दुर्घटना हुन सक्ने भन्दै पुर्न निर्देशन दिनुभएको हो ।

जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सडकमा कार्यरत विभिन्न सडक आयोजना प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, जिल्लाका चार वटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इन्जिनियर, चार वटै सुरक्षा निकायका प्रमुखसँगको छलफलमा सार्वजनिक सरोकारका विषयमा विभिन्न निर्णयसमेत गरिएको छ ।

छलफलमा नगरकोट सडक तत्काल मर्मत गरी निर्माण सम्पन्न गर्न र मध्यपुरथिमिको निकोसेरा सडक आज दिनभरमा खाल्डाखुल्डी पुरेर सहजरुपमा यातायातका साधन सञ्चालन गर्न सक्ने बनाउन प्रजिअ शर्माले निर्देशन दिनुभयो । 

आफूले यहाँ आएपछि जिल्लाका अधिकांश सडक घुम्ने क्रममा सडकको कन्तबिजोग देखेको उल्लेख गर्दै उहाँले सडकको दुरावस्थाको तस्बिर र जनताबाट आएका गुनासाको चाङ देखाएर जनगुनासो नआउने गरी काम गर्न निर्देशन दिनुभयो । 

छलफलमा सडक बिस्तार गर्दा विद्युत्ले पोल नसारिदिँदा दुर्घटनाको जोखिम बढेको, केबुल र इन्टरनेटका तार लत्रँदा दुर्घटना भएको, सडकमा चौपाया र सडक बत्ती नहुँदा राजमार्गमा दुर्घटना बढेको, सडकलाई पार्किङ क्षेत्र बनाइएको लगायत समस्यामाथि छलफल भएको थियो । 

त्यस्तै प्रमुख जिल्ला अधिकारी शर्माको संयोजकत्वमा जिल्ला समन्वय समितिका प्रमुख सल्लाहकार, सहायक प्रमुख जिल्ला अधिकारी सदस्य सचिव र जिल्लामा सञ्चालित विभिन्न सडक आयोजनाका प्रमुख, चार वटै सुरक्षा निकायका प्रमुख एवं नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख सदस्य रहने गरी कमाण्ड सेन्टर गठन गरिएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button