तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सुरक्षा भत्ता वितरण भएन

बलेवा। बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमा भत्ता नपाउँदा दशैंमा हात रित्तै भएका छन् । स्थानीय तहमार्फत वितरण हुने सो भत्ता जिल्लाका केही वडामा मात्रै वितरण भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैङ्क तथा वित्तीय संस्थामा निकासा भैसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुने लगायतका कारणले ती समूहले भत्ता नपाएका हुन् ।‘‘मेरो त दशैं खर्च नै त्यही भत्ता हो तर आएन’’ जैमिनी नगरपालिका वडा नं. १ का ९० वर्षीया बसुन्धरा शर्माले भन्नुभयो ‘‘वर्षेनी यस्तै गर्छन्, दशैंमा सधैँ हात खाली हुन्छ ।’’ उनीको बाँच्ने आधार नै सामाजिक सुरक्षा भत्ता हो । उहाँका अरू कोही छैनन् भने ज्याला मजदुरी गरेर खाने उमेर छैन ।

नगरपालिकाले अख्तियारी ढिला आएका कारण बैङ्कमा पठाइएको भए पनि दशैं बिदाअघि लक्षित समूहका हातमा पु¥याउन कठिन रहेको बताएको छ । ‘‘हामीले बैङ्कको खातामा पठाईसकेका छौँ, बैङ्कले पु¥याउँदै होला’’ प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले भन्नुभयो । जिल्लाको तमानखोला गाउँपालिकाले आइतबार मात्रै बैङ्कमा पैसा पठाएको छ । दशैं बिदा हुन दुई दिन मात्रै बाँकी रहँदा सामाजिक सुरक्षा भत्ता बापतको रकम बैङ्कमा पठाइएकाले दशैं अघि लक्षित समूहले भत्ता पाउन नसक्ने गाउँपालिकाका कर्मचारी नै बताउँछन् । लेखा अधिकृतको सरुवा लगायतका कारणले समयमा निकासा दिन नसकेको गाउँपालिकाले जनाएको छ ।

बागलुङ नगरपालिकाले पनि सामाजिक सुरक्षा भत्ता बाँडेको छैन । भत्ताको आशामा लक्षित वर्ग बैङ्कमा धाए पनि नगरले भत्ता नपठाएको जवाफ पाउने गरेको गुनासो गर्छन् । खातामा पैसा आए दशैं बिदामै भए पनि भत्ता बढ्ने बैङ्कले आश्वासन दिने गरेका छन् । दशैंका लागि खुद्रा बनाउने र दशैं खर्चको जोहो गर्ने गरेका ज्येष्ठ नागरिकका लागि भत्ता नै आधार हो ।

बागलुङको काठे खोला गाउँपालिकाले अधिकांश वडामा भने सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । ढिलो भए पनि दशैं अघि नै सबैले भत्ता पाउने गरी यही असोज १५ मा नै बैङ्कमा भत्ता पठाइएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिनुभयो । बैङ्क तथा वित्तीय संस्था मार्फत वितरण हुने भत्ता सम्बन्धित व्यक्तिको खातामा पठाउन मात्रै दुई दिन समय लाग्ने गरेको वडा अनुसारको जिम्मेवारी पाएका बैङ्क बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button