मोतीपुर झडपमा चार जनाको मृत्यु
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबिच झडप हुँदा चार जनाको मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाण गङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन् । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताउनुभयो । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
प्रहरीले अस्थायी रूपमा बनाइएका टहराहरू समेत भत्काएको छ । झडपमा परी कैयौँ घाइते भएका छन् । सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो तर अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्