तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले भारतविरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौँ । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

माले स्थित राष्ट्रिय रङ्गशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबिचको खेल नेपाली समय अनुसार राति ९ः४५ सुरु हुनेछ ।

सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रँदा नेपाललाई सहज हुने छैन । तर, सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ । भारतविरुद्धको खेल नेपालको लागि महत्त्वपूर्ण रहेको छ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ ।

प्रतियोगितामा नेपाल २ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलङ्कालाई ३–२ ले हराएको थियो । लगातारको दुई जितले नेपाल फाइनल नजिक रहेको छ । 

साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो । पहिलो खेलमा बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलङ्कासँग गोलरहित बराबरी खेलेको थियो ।

भारत २ खेलमा २ अङ्क जोडेर चौथो स्थानमा रहेको छ । त्यसैले भारत नेपालविरुद्ध स्पष्ट ३ अङ्कको खोजीमा हुनेछ । जसको कारण पनि भारतविरुद्धको यस खेल नेपाललाई कठिन रहेको मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी बताउँछन् ।

भारतविरुद्ध नेपालले हालसम्म २१ खेल खेलेको छ । जसमा भारत पूर्ण रुपमा हाबी छ । नेपालविरुद्ध भारतले १४ खेल जितेको छ । नेपालले दुई खेल जित्दा ५ खेल बराबरीमा सकिएको छ । 

पछिल्लो पटक नेपालले भदौमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । दशरथ रङ्गशालामा नेपालले एक खेल बराबरी खेल्दा एक खेलमा हार व्यहोरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button