तपाईँ सुन्दै हुनुहुन्छः

बढ्दो मनोसामाजिक समस्याप्रति उदासीन स्थानीय तह

जुम्ला । मानसिक समस्या रोकथाम तथा नियन्त्रणमा स्थानीय तह उदासीन देखिएका छन् । समयको विकाससँगै मनोसामाजिक समस्या पनि विकराल बन्दै गएको छ । तर मानसिक स्वास्थ्यमा हुने विभिन्न समस्याहरूको न्यूनीकरणमा स्थानीय तह मौन देखिएका हुन् । 

गरिबी, अशिक्षा, द्वन्द्व, आर्थिक, पारिवारिक तथा सामाजिक कारणले जुम्लामा मनोसामाजिक समस्याका बिरामी बढ्दै गएका छन् । स्थानीय सरकार सञ्चालनको साढे ४ वर्ष भइसक्दा पनि उनीहरूलाई परामर्श दिने, उनीहरूका भावना बुझ्ने कुरा सुन्ने एक सहज माध्यम संयन्त्र समेत बन्न सकेका छैनन् । 

आइतबार बिहान जुम्लामा टिपिओ नेपालद्वारा आयोजित पत्रकारहरूलाई मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बढ्दो मानसिक समस्या प्रति स्थानीय तह उदासीन रहेको पाइएको हो । 

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा टिपिओद्धारा आयोजित अभिमुखीकरण बाहेक अन्य जुम्लाका आठै स्थानीय तह, गैरसरकारी निकाय स्वास्थ्य कार्यालय लगायतका कुनै निकायले पनि औपचारिक कार्यक्रम गरेका छैनन् । स्वास्थ्य क्षेत्रको अभिन्न अङ्ग मानिने मानसिक स्वास्थ्यलाई स्थानीय तहले उपेक्षा गर्दा गाउँ गाउँमा मानसिक रोगी बढ्दै गएका छन् । 

अस्वास्थ्य जीवनशैली, आर्थिक, सामाजिक, पारिवारिक, बेरोजगारी, चेतनाको अभाव जस्ता थुप्रै कारणले पछिल्लो समय जुम्लामा आत्महत्या गर्नेको सङ्ख्या पनि उल्लेखनीय रुपमा रहेको छ । तथ्याङ्क अनुसार गत दुई आ.व.मा मात्रै जुम्लाका ३२ जनाले आत्महत्या गरेका छन् । 

मनोविमर्शकर्ता नन्दराज आर्चाय भन्नुहुन्छ, “समयको विकास सँगै सबैका घरघरमा तनाव छ । एक आपसमा प्रतिस्पर्धाको भावना छ । यसले गर्दा मान्छे तनाव लिएर पनि काम गरिरहेका छन् । तर तनाव व्यवस्थापन गर्ने कुनै संरचना छैन । यसमा स्थानीय तह निकै मौन छन् ।  

उनका अनुसार जैविक कारण, मानव सृजित तथा प्राकृतिक विपद्, वंशाणुगत, घरेलु हिंसा, बालविवाह, यौन हिंसा, गरिबी, बेरोजगारी, राजनीतिक द्धन्दले मानसिक स्वास्थ्यमा समस्या देखिन्छन् । 

जिविडि नामक संस्थाले गरेको तथ्याङ्क अनुसार विश्वमा १४ प्रतिशत मानसिक स्वास्थ्य समस्याले जेलिएका छन् । भने, लागू पर्दाथको सेवनबाट सबैभन्दा बढी मानसिक रोगी हुने गरेको पाइएको छ । तर मानसिक स्वास्थ्य समस्याको उपचार गर्ने बलियो संरचना नहुँदा  हर कोही ५ जना मध्य ४ जनाले उपचार पाएका छैनन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक अनुप देवकोटाले जुम्लामा पनि दैनिक जसो २/३ जना मनोसामाजिक समस्या भएका बिरामी आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जुम्लासँगै नेपाल भरिनै अधिकांश २० वर्ष मुनिका युवायुवतीहरूमा मनोसामाजिक समस्या देखा पर्ने गरेको छ । आत्म हत्या गर्ने २० वर्षमुनिका धेरै छन् । एकातिर सरोकारवाला मौन रहने अर्को तर्फ करिब ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित रहेका तथ्याङ्क छन् ।”

जुम्ला भरी गरेर हाल ३÷४ जना मात्रै विमर्शकर्ता छन् । तर गाउँ गाउँमा मनोसामाजिक समस्या छ । त्यसैले स्थानीय सरकारहरूले कम्तीमा एक गाउँमा एक विमर्शकर्ता नीति बनाउनु पर्नेमा मनोचिकित्सक देवकोटाको जोड छ । भूकम्पबाट प्रभावित जिल्लामा गरिएको अध्ययनले नेपालमा ३४ दशमलव ३५ प्रतिशत नागरिक एन्जाइटी, ३३ दशमलव ८५ प्रतिशत नागरिकलाई आघात हुने समस्या देखिएको छ । 

यद्यपि, जुम्लामा हाल सम्म कति जना मनोसामाजिक समस्या भएका व्यक्ति रहेका छन् । कस्तो अवस्थामा छन् ? कतिले उपचार पाए पाएनन् भन्ने यकिन तथ्य छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button