तपाईँ सुन्दै हुनुहुन्छः

शिक्षाका परिणाममुखी कार्यक्रममा मात्रै लगानी हुन्छ: अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले शिक्षा क्षेत्रमा परिणाम र उत्पादनमूलक योजना तथा कार्यक्रमका लागि मात्रै लगानी गरिने बताउनुभएको छ । 

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) को १२ औँ वार्षिक साधारण सभाको आज उद्घाटन गर्नुहुँदै अर्थमन्त्री शर्माले पहुँच र हचुवाका भरमा कुनै फाइल तयार गरेर आफूले बजेट नदिने स्पष्ट पार्नुभयो । 

नक्साकङ्नबिना विद्यालय र कलेज स्वीकृति दिइने तथा त्यहाँ गुणस्तरीय शिक्षा नहुने हुँदा लगानी खेर गइरहेकातर्फ सङ्केत गर्नुहुँदै अर्थमन्त्री शर्माले संविधानमा व्यवस्था भएबमोजिम सार्वजनिक शिक्षा निःशुल्क गराउन र शिक्षामा समानता स्थापना गर्न आफू प्रतिबद्ध रहेको सुनाउनुभयो । 

उहाँले सरकारले ‘पढ्दै, कमाउँदै’ कार्यक्रम ल्याएको र त्यसलाई कार्यान्वयन गर्न समुदाय स्तरमा सबै पक्षको सहयोग र विज्ञता उपयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरि लम्सालले कोभिड महामारीपछि शिक्षामा रूपान्तरणका विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुँदै शिक्षामा लैङ्गिक समताका पक्षमा सुधार भए पनि उच्च शिक्षासम्म विद्यार्थी टिकाउनु चुनौतीपूर्ण भएको बताउनुभयो । 

कार्यपत्रमाथि टिप्पणी गर्नुहुँदै शिक्षा विज्ञ विमल फुयाँलले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले शिक्षामा लगानी बढाउन र उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनमाथि संसद्मा छलफल चलाउन आग्रह गर्नुभयो । 

शिक्षाविद् डा विद्यानाथ कोइरालाले संविधान र दलीय घोषणापत्रमा जनमुखी र उत्पादनमूलक शिक्षा भनिए पनि त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा अन्योल देखिएको बताउनुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का सांसद विद्या भट्टराई, राष्ट्रिय योजना आयोगका सदस्य डा पुष्प रमण वाग्ले, मानवअधिकारवादी गौरी प्रधानलगायतले आ—आफ्नो धारणा राख्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button