तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद्मा समेट्न नसकेका योग्य साथीलाई उचित जिम्मेवारी दिइनेछ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने आश्वासन दिनुभएको छ ।

स्कुल अफ डेमोक्रेसी, अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद कोइराला: शताब्दी सन्दर्भ’ पुस्तकको आज विमोचन गर्दै उहाँले शुक्रवारको मन्त्रिपरिषद् विस्तारमा योग्य साथी छुटेकामा आफूलाई दुःख लागेकोसमेत बताउनुभयो । 

क्षमतावान् र योग्य साथीलाई आगामी दिनमा उचित जिम्मेवारी दिँदै जाने बताउँदै उहाँले आफ्नो बाध्यता बुझिदिन आग्रह गर्नुभयो ।

सांसद मीन विश्वकर्माले बिपी कोइराला, प्रजातन्त्र र कांग्रेस एक अर्काका परिपूरक भएको बताउँदै जनतालाई प्रजातन्त्रको अर्थ, महत्त्व र अभ्यासका बारेमा बुझाउनुपर्ने आजको आवश्यकता भएको बताउनुभयो ।

राष्ट्रियसभाअन्तर्गत दिगो विकास समितिका सभापति तारादेवी भट्टले संयुक्त राष्ट्र सङ्घले हाल अघि बढाएको दिगो विकासको लक्ष्य बिपी कोइरालाले आफ्नो समयमा परिकल्पना गरेको सिद्धान्त र विचारसँग मिल्दोजुल्दो भएको बताउनुभयो ।

कार्यक्रममा पूर्व राजदूत दिनेश भट्टराई, संविधानविद् डा.विपिन अधिकारी, स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष र एवं नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष नैनसिंह महरलगायतले बिपीका सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गर्दै बिपीका बारेमा थप अध्ययन र अनुसन्धानको खाँचो औँल्याउनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button