मूर्ति नबिकेपछि चिन्तामा कालिगड

कपिलवस्तु । दसैँका लागि दुर्गा भवानीको मूर्ति बनाउन कालिगडहरू यो पटक सोचेजस्तो व्यापार नभएपछि चिन्तित छन् ।
विजयादशमीमा जिल्लाका विभिन्न स्थानमा निकालिने दुर्गा भवानी सहित विभिन्न देवी देवताको माटोका मूर्तिहरूका लागि दुई महिना अघिदेखि काम गर्दै आइरहेका कालिगडहरू यस पटक सोचेजस्तो व्यापार नभएपछि लगानी डुब्ने हो कि भन्ने चिन्तामा परेका हुन् । कोरोना महामारीका कारण भिडभाड गर्न नपाइने र मूर्ति प्रदर्शन गर्न समेत कडाइ गरिनसक्ने आङ्कलनले मानिसहरूले यो पटक सोचेजस्तो मूर्ति किनेका छैनन् । जसकारण यो बर्ष मूर्तिको व्यापार ठ्याम्मै घटेको छ । अघिल्लो वर्षको तुलनामा यो बर्ष ७० प्रतिशत व्यापार कम भएको कालिगडहरू बताउँछन् ।
कोरोनाको कारण गत वर्षको तुलनामा यो बर्ष मूर्तिहरूको खासै अर्डर नआएको कपिलवस्तु नगरपालिका वडा नम्बर १ का कालिगड अनिल गुप्ताले बताउनुभयो । कोरोनाको महामारी चलिरहेको बेलामा मूर्ति लैजान ल्याउन निकै कठिनाइ भएको र जिल्ला प्रशासनले पनि डिजे नबजाउन अग्राह गरेको उहाँले बताउनुभयो । उहाँले यो बर्ष मूर्तिको व्यापारमा पनि कमी आएको बताउनुभयो ।

विगत दश बर्ष देखि दशैका लागि मूर्ति बनाउँदै आएका कपिलवस्तु नगरपालिका २ का कालिगड सङ्ग्राम अग्रहरीले यो बर्ष कोरोनाको कारण धेरै नोक्सानी व्यर्होनु परेको बताउनुभयो । उहाँले भन्नुभयो कोरोना भन्दा पहिलेका वर्षहरूमा २५ देखि ३० वटा मूर्तिहरू बनाउँदै आए पनि यो बर्ष १० वटा मूर्तिको मात्र अर्डर आएको सुनाउनुभयो । अर्डर भएको मूर्ति घटस्थापनाको दिन गई सकेको बताउँदै अग्रहरीले अब पञ्चमीमा मूर्ति बिकेन भने परिवार पाल्नै मुस्किल हुने बताउनुभयो ।
दसैँका लागि कालिगडहरूले दुर्गा, बाघ, भैँसी, राक्षस, गणेश, लक्ष्मी, कात्तिकेलगायतका देवी देउताको मूर्ति निर्माण गर्ने गर्दछन् । जिल्लामा कतै घटस्थापना र कतै सप्तमीका दिनदेखि मूर्ति प्रदर्शन गर्ने चलन छ । यहाँका मूर्तिकारहरूले मूर्ति बनाउन चाहिने औजार र सजावटका सामग्रीहरु भारतबाट ल्याउने गर्दछन् ।









प्रतिक्रिया राख्नुहोस्