तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं १ को प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आजबाट सुरु

विराटनगर ।  प्रदेश नं १ को प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । 

अधिवेशनको सुरुमा सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशन आह्वान सम्बन्धी पत्र सदनमा पढेर  सुनाउनुभयो ।

उहाँले सोही अवसरमा हिन्दुहरूको महान् चाड बडादसैँको शुभ अवसरमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनी एवं प्रदेश सभा सदस्यहरूलाई शुभकामना दिनुभयो ।

प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले लोकतन्त्र र मुलुकको सार्वभौमतालाई बलियो बनाउन दलहरू विभाजन हुन नहुने भन्नुहुँदै कुनै पनि राजनीतिक दलको पूर्ण बहुमत नरहेकाले संयुक्त सरकार बनाउन आग्रह गर्नुभयो । 

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले लोकतन्त्रमा आस्था विश्वास राख्ने नेपाली काँग्रेसले कहिले पनि संविधान र लोकतन्त्रलाई कमजोर बनाउने काम नगर्ने उल्लेख गर्नुभयो । 

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारले नैतिक हैसियत गुमाएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न मुख्यमन्त्रीलाई आग्रह गर्नुभयो । 

नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले संविधान अनुसार सदन र सरकार नचलेको बताउनुभयो । 

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जयराम यादवले अहिलेको सरकारले संविधान मिच्ने काम गरेको बताउनुभयो । 

प्रदेशसभाको अर्को बैठक असोज २४ गते बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button