जिल्ला अस्पताल पाँचथरमा सबै प्रकारका सेवा
पाँचथर । जिल्ला अस्पताल पाँचथरले क्षतविक्षत बनेका संरचनाको पुनः निर्माण तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति नभएसम्म अस्पतालका सबै प्रकारका सेवा बन्द गरेको छ ।
अस्पतालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएको घटनालाई लिएर बुधवार बेलुकी अस्पतालमा भएको तोडफोडका कारण स्वास्थ्य सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको भन्दै सबै प्रकारका स्वास्थ्य सेवा बन्द गर्ने जनाएको छ ।
अस्पतालले सटिक एलर्जिक प्रतिक्रिया (एनाफाइलासिस) का कारण उपचाररत बालिका कृष्टिना थाम्सुहाङ ज्यान गएको हुनसक्ने आङ्कलन गरेको छ ।
अस्पतालले विज्ञप्तिमा मृतक बालिकाको रगत लगायत केही जाँचको रिपोर्ट आउन बाँकी रहेकाले मृतक बालिकामा पहिचान हुन बाँकी रहेका रोगको जटिलताले समेत बालिकाको मृत्यु भएको हुनसक्ने अस्पतालले जनाएको छ । अस्पतालले उपचार प्रक्रियामा कुनै त्रुटि वा लापरबाही भएको आशङ्का भए छानबिन गरी निष्कर्षमा पुग्न तयार रहेको जनाएको छ ।
फालेलुङ गाउँपालिका–८ घर भई फिदिम नगरपालिका–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको उपचारका क्रममा २० गते बिहान अस्पतालमा मृत्यु भएको विषयमा बेलुकी अस्पतालमा तोडफोड भएको थियो ।
भीडले अस्पतालमा ढुङ्गामुड़ा गर्दा ठूलो भौतिक क्षति भएको छ । बिहीबार प्रशासन र मृतक बालिकाका परिवारबीच घटनाको छानबिन गर्ने लगायत चार बुँदे सहमति भएको छ ।








प्रतिक्रिया राख्नुहोस्