तपाईँ सुन्दै हुनुहुन्छः

सात वाणिज्य बैङ्कले घोषणा गरे लाभांश

काठमाडौँ । हालसम्म सात वाणिज्य बैङ्कले लाभांश घोषणा गरेका छन् । बैङ्कहरूले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । 

आज बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैङ्क इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन् । बैङ्कहरूले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्क पुगेको छ । राष्ट्र बैङ्कले केही बैङ्कको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ । 

लाभांश प्रस्ताव गरेका सात वाणिज्य बैङ्कमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैङ्कको छ । बैङ्कले शेयरधनीलाई कूल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैङ्कले ८ दशमलव ६७ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको छ । 

बैङ्कहरूको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैङ्कले स्वीकृत तथा बैङ्कको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीको हातमा लाभांश पर्नेछ । बैङ्कहरूले लाभांश घोषणा गर्न थाले पनि शेयरधनीले भने दसैँपछाडि मात्र लाभांश पाउने भएका छन् । 

विगतका वर्षमा केही वाणिज्य बैङ्कले दसैँअघि नै वार्षिक साधारणसभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दसैँ अगाडि लाभांश नपाउने भएका हुन् ।

कुन बैङ्कको कति

गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैङ्क लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बुधवार बसेको बैङ्क सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कूल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै, सानिमा बैङ्कले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १७.८९प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैङ्कले १६ प्रतिशत र सिटिजन्स बैङ्क इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् । गत आवको नाफाबाट माछापुच्छ्रे बैङ्कले शेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो बैङ्कले कात्तिक २६ गतेका लागि साधारणसभा पनि बोलाइसकेको छ । 

यस्तै गरी, कुमारी बैङ्कले शेयरधनीलाई ८ दशमलव ६७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले १३.०६ प्रतिशत लाभांश घोषणा गरेका छन् । 

दशैमा लाभांश नपाउने

बैङ्कहरूले लाभांश घोषणा गर्न थाले पनि शेयरधनीले भने दशैपछाडि मात्र लाभांश पाउने भएका छन् । विगतका वर्षमा केही वाणिज्य बैङ्कहरूले दशैँ अघि नै वार्षिक साधारणसभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दशैँ अगाडि लाभांश नपाउने भएका हुन् ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहालका अनुसार यस वर्ष बैङ्कहरूले ढिलो गरेर वित्तीय विवरण सार्वजनिक गरेकोले अन्य प्रक्रियामा समेत ढिलाइ हुँदा लाभांश वितरणमा ढिलाइ भएको हो । “यस वर्ष वित्तीय विवरण सार्वजनिकमा ढिलाइ भयो”, उहाँले भन्नुभयो, “नेपाल राष्ट्र बैङ्कले भदौसम्मको आम्दानीलाई जोड्न पाउने व्यवस्था पनि ग¥र्यो । यी व्यवस्थाले बैङ्कहरूले समय पनि पाए, त्यसैले पनि यस वर्ष दसैँ अगाडि शेयरधनीलाई लाभांश दिन सकिएन ।” दीपावली आसपासमा शेयरधनीले लाभांश पाउन सक्ने उहाँको भनाइ छ । 

हाल केही बैङ्कले साधारणसभा पनि बोलाइसकेका छन् । साधारणसभाले लाभांश पारित गरेपछि मात्र बैङ्कका शेयरधनीले लाभांश पाउनेछन् । 

विकास बैङ्कमा कामना पहिलो

सात वाणिज्य बैङ्कले लाभांश घोषणा गरे तापनि विकास बैङ्कमा लाभांश घोषणा गर्ने पहिलो बैङ्कमा कामना सेवा विकास बैङ्क भएको छ । बैङ्कले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यही असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांशसमेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित १९.४७ प्रतिशत लाभांश गत चार वर्षयताकै उच्च हो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button