उपचाररत बालिकाको निधन भएपछि पाँचथर अस्पतालमा तोडफोड
पाँचथर । उपचाररत बालिकाको निधन भएपछि जिल्ला अस्पताल पाँचथरमा तोडफोड भएको छ ।
स्वास्थ्यकर्मीको लापरबाहीको कारण बालिकाको निधन भएको भन्दै आक्रोशित बनेको भिडले अस्पतालमा ढुङ्गा मुढा गरेको हो ।
ढुङ्गा मुढा प्रहारबाट अस्पतालमा क्षति पुगेको छ । अस्पताललाई जोगाउन प्रहरीले लाठी चार्ज पनि गरेको थियो ।
उपचारका क्रममा पाँचथर फालेलुङ गाउँपालिका ८ घर भई फिदिम २ पल्लोटारमा बसोबास गर्दै आएका कमल थाम्सुहाङ की तीन वर्षीय छोरी कृष्टिनाको बुधवार बिहान निधन भएको थियो ।
जिल्लाका सुरक्षा प्रमुखहरूले संयुक्त प्रेस विज्ञप्ति निकाल्दै सार्वजनिक सम्पत्तिमाथि तोडफोड गर्नेलाई कानुन अनुसार कारबाही गरिने बताइएको छ ।
मृतक परिवारका आफन्तले तोडफोडमा कुनै संलग्नता नभएको विज्ञप्तिमा दाबी गरेका छन् ।
राउन्डमा आएका स्वास्थ्यकर्मीले बिहानको औषधीको मात्रा लगाएपश्चात् बालिकाको निधन भएकोले चिकित्सकको लापरबाही भएको पीडितको गुनासो छ ।
बालिकाको निधन कसरी भयो भनेर अनुसन्धान भइरहेको र चलाएको औषधी गलत नभएको अस्पतालका बाल रोग विशेषज्ञ डा.बरुण अग्रवालले जानकारी दिनुभयो ।
अस्पतालका भौतिक संरचनामा तोडफोड हुनुका साथै आपत्तिजनक नाराबाजी भएपछि स्वास्थ्यकर्मी उपचारमा खटिने वातावरण बनेको छैन । अस्पताल प्रशासनले आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।
अस्पतालमाथि थप खतरा भएपछि सुरक्षाकर्मीको बाक्लो पहराले अस्पतालको सुरक्षा गरिरहेको छ ।
समस्या समाधानका लागि जिल्ला प्रशासनमा बसेको बैठकबाट बालिकाको शव बुझ्ने तथा घटनाको छानबिन गर्न समिति गठन गर्ने सहमति भएको छ ।
यस्तै अस्पताल प्रशासनले बालिकाको काजक्रियाका लागि लागि रु. ४० हजार रकम उपलब्ध गराउने भएको छ ।








प्रतिक्रिया राख्नुहोस्