‘दशैँका लागि तीन महिना अघिदेखि मूर्ति बनाउन व्यस्त’

बर्दिया । विगत तीन महिनादेखि मूर्ति बनाउनमा निकै व्यस्त रहनुभएका गुलरिया नगरपालिका–७ का मुरली प्रसाद गोडियालाई अहिले मूर्ति बिक्री गर्न भ्याई नभ्याई भएको छ ।
पहिलो पटक बि.सं. २०४० सालमा शिव भगवान्को मूर्ति बनाएका गोडीयाले त्यस बेलादेखि हालसम्म आफ्नो पेसालाई निरन्तरता दिइरहनु भएको छ ।
वर्षभरिको आम्दानी एउटै सिजनमा हुने भएपछि उहाँ तीन महिना अघिदेखि मूर्ति बनाउन व्यस्त हुनुभएको हो ।

हरेक बर्ष दशैँको समयमा घरका सम्पुर्ण सदस्यहरूका साथ मूर्ति बनाउँदै आउनुभएका बर्दियाका पुराना मूर्तिकार गोडियालाई यति बेला बाँके, बर्दिया र कैलालीबाट मूर्तिको माग भएको र मूर्ति पुर्याउन भ्याई नभ्याई भएको छ ।
स्थानीय माटो, बाँस, पराल र सुतली तथा रङ्ग रोगनको प्रयोग गरी मूर्ति बनाउने गरेको उहाँ बताउनुहुन्छ । गोडिया भन्नुहुन्छ, “अब त उमेर नि हुन लागिसक्यो माग भए अनुसार मूर्ति बनाउन सक्दिन ।”
सानै उमेरदेखि पढाइमा रुचि भएको बताउँदै उहाँ भन्नुहुन्छ, “सानै उमेरदेखि मलाई चित्रकारितामा रुचि रहेको हुँदा कक्षा ८ मा पढ्दै गर्दा मैले यो काम गर्दै आएको हुँ ।”

हिन्दु परम्परागत अनुसार घटस्थापनाका दिनदेखि नै देवि देवताको मूर्ति राखी पूजाआजा गर्ने चलन रहेको छ ।
“गाउँका चोक चौराहा र मन्दिरमा राखिने मूर्तिहरू पहिला पहिला भारतबाट ल्याउने चलन थियो । आफूले तयार पारेका चेलाहरूले पनि बर्दियामै मूर्ति बनाउन थालेपछि यहाँका मानिसहरूले बाहिरबाट मूर्ति ल्याउन छोडेको उहाँ बताउनुहुन्छ ।
“परिवारका ५ जना सदस्यले मिलेर मूर्ति बनाउन थालेको भए पनि धेरै माग आएपछि माग पुरा गर्न सकेका छैनौँ”, उहाँले भन्नुभयो ।

मूर्तिका लागि आवश्यक सिँगार पटारका सामग्री स्थानीय बजारमा नपाइने र कुनै कनै सामान पाइए पनि निकै महँगो हुने हुँदा सबै सामग्री स्थानीय बजारमा सहज रुपमा उपलब्ध भए राम्रो हुने गोडिया बताउनुहुन्छ ।
मूर्तिका सामाग्री भारतबाट ल्याउनुपर्दा भने समस्या भएको उहाँको भनाई छ । मूर्ति बनाउने कलामा युवाको आकर्षण बढेता पनि धेरै समाग्रीहरु भारतबाटै ल्याउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

“यो बर्ष २७ सेट मूर्ति जसमा ठुला साना गरी १ सय ३५ थान मूर्ति बनाएको छु ।” उहाँले भन्नुभयो, “एक सेट मूर्तिको ५ देखि २० हजारसम्म मूल्यमा बेचेर एक सिजनमा डेढ लाखसम्मको आम्दानी भएपछि जीविकोपार्जनमा सहज भएको छ ।”
यो पेसाले समाजमा नाम प्रतिष्ठा भए पनि हालसम्म कुनै संद्य संस्था, स्थानीय तहबाट कुनै सहयोग नपाएकोमा गोडिया दुखेसो गर्नुभयो । तर उहाँले आफु मूर्ति बनाउने काममा सन्तुष्ट भएको मूर्तिकार गोडीयाले बताउनुभयो ।

मूर्ति बाहेक अन्य समयमा पेन्टिङ गर्दै आइरहनुभएको गोडीया अहिलेको आधुनिक जमानामा डिजिटल प्रणालीले बजार ओगटिसकेको अवस्थामा पेन्टिङ पेसा धराशायी हुन पुगेको बताउनुहुन्छ । “काम आउन छोडेको छ । स्थानीय सरकार र सरोकारवालाहरूले हामी जस्तालाई हेरिदिने हो भने धेरै राम्रो हुन्थ्यो ।” उहाँले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्