तपाईँ सुन्दै हुनुहुन्छः

वायुसेवा निगमका पूर्व अध्यक्ष मृत भेटिए

काठमाडौँ । नेपाल वायुसेवा निगमका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत भेटिनुभएको छ । 

काठमाडौँ महानगरपालिका–७ चाबहिलस्थित निर्माणाधीन घर नजिक उहाँको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार गौतम अग्रवालको निर्माणाधीन घरबाट ७४ वर्षीय चतुर्वेदीले हाम फालेर आत्महत्या गरेको प्रारम्भिक अनुमान छ । घटनाको थप अनुसन्धान जारी छ । 

उहाँको शव बिहान ७ः०० बजे फेला परेको र अहिले शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रवक्ता प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घरको चौथो तलामा उहाँको मोबाइल फेला परेको छ । चतुर्वेदी बिहान मर्निङवाक गएको बेला उक्त घटना भएको जनाइएको छ । 

चतुर्वेदी तत्कालीन शाही नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button