झापामा लागु औषधसहित दुई जना पक्राउ

भद्रपुर, झापा । सशस्त्र प्रहरीले झापाको सदरमुकाम भद्रपुर र मेचीनगरबाट लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वी नगरले मङ्गलवार बेलुका भद्रपुर नगरपालिका–३ बाट बिर्तामोड नगरपालिका– १० सैनिक मोड निवासी ४४ वर्षीय मिलन गुरुङलाई लागु औषध र विदेशी रकमसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ लुकीछिपी आउने क्रममा सशस्त्र प्रहरीले सीमामा रोकेर चेकजाँच गर्दा गुरुङको साथबाट प्रतिबन्धित स्कुफ कफसिरप ४२ बोतल, नाइट्राजेपाम ट्याब्लेट १० पत्ता (१०० गोटा) र विभिन्न १० मुलुकका विदेशी रकम फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिनुभयो ।
त्यस्तै सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सतिघट्टाले मेचीनगर नगरपालिका– ७ स्थित मेची पुल मुनिबाट पाँचथर जिल्ला मिक्लाजुङ्ग गाउँपालिका घर भई हाल झापाको कमल गाउँपालिका– ६ निवासी १९ वर्षीय दिवाना राईलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
भारतबाट नेपालतर्फ लुकीछिपी आउँदै गरेका उनलाई शङ्का लागि चेकजाँच गर्दा ३ ग्राम ब्राउन सुगर बरामद गरिएको डिएसपी भण्डारीले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइसकिएको सशस्त्र प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्