पत्रकार राम केसीलाई ज्येष्ठ पत्रकार सहायता रकम

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा रहेर लामो समयदेखि क्रियाशील रहनुभएका पत्रकार राम केसीलाई ज्येष्ठ पत्रकार सहायता रकम हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासङ्घ सिन्धुपाल्चोक शाखाले उहाँलाई सो रकम हस्तान्तरण गरेको हो ।
महासङ्घले ६० वर्ष नाघेकालाई यस्तो सहायता उपलब्ध गराउने नीति अनुरूप केसीलाई सहयोग गरिएको हो । हरेक वर्ष ६० वर्ष नाघेका क्रियाशील पत्रकारलाई दिइने यो रकम यो वर्ष केसीलाई प्रदान गरिएको पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले बताउनुभयो ।
केसी अस्वस्थ हुनु भएकाले उहाँका धर्मपत्नी टीकालक्ष्मी केसीलाई चेक हस्तान्तरण गरिएको थियो । उहाँलाई प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले १२ हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।
‘सामाजिक सुरक्षा भत्ता स्वरूप पत्रकारलाई यस्तो सहायता प्रदान गरिन थालिएको हो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘यो हरेक वर्ष निरन्तर चल्नेछ ।’ सिन्धुपाल्चोक शाखामा ६० वर्ष नाघेका केसी मात्रै भएकाले यो वर्ष यस्तो सहायता केसीलाई मात्रै प्रदान गरिएको हो ।
२००३ सालमा जन्मेका केसी अझै पत्रकारितामा सक्रिय हुनुहुन्छ । उहाँ २६ वर्षदेखि राष्ट्रिय समाचार समितिमा आबद्ध हुनुहुन्छ । केसीले यस अघि २०७४ सालमा पत्रकार महासङ्घ केन्द्रबाट प्रेस स्वतन्त्रता सम्मान लगायत सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नु भएको छ ।
पत्रकार महासङ्घ सिन्धुपाल्चोकले आयोजना गरेको विजया दशमी, शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सो रकम हस्तान्तरण गरिएको हो ।








प्रतिक्रिया राख्नुहोस्