तपाईँ सुन्दै हुनुहुन्छः

गर्भ नरहने डर र लाजले परिवार नियोजनका साधन प्रयोग गर्दैनन् महिला

सल्यान । सल्यानका स्वास्थ्य संस्थाहरूमा एक वर्षको अवधिमा ६९ जनाले स्थायी बन्ध्याकरण गरेका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार एक वर्षको अवधिमा ५७ पुरुष र १२ महिलाले स्थायी बन्ध्याकरण गरेका छन् । 

कोभिड–१९ का कारण परिवार नियोजन सम्बन्धी स्वास्थ्य सेवा लिन सेवाग्राहीहरूको सङ्ख्यामा कमी आएको कार्यालयले जनाएको छ । परिवार नियोजनका अस्थायी र स्थानीय सेवा लिने सेवाग्राहीहरू कोभिडकै कारण नियमित स्वास्थ्य संस्थामा आउन नसक्दा सङ्ख्या केही कम देखिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सूचना अधिकारी थलराज डिसीले बताए । सेवा प्रदायक संस्थाहरूले महामारीको बिचमा पनि सेवा उपलब्ध गराएको भएता पनि सेवाग्राही निकै कम आएको उनको भनाई छ । 

कार्यालयका अनुसार परिवार नियोजनका साधन पिल्स १ हजार २ सय ६२, डिपो ४ हजार ८ सय ८२, आई.यु. सि.डी. १ हजार ९ सय ९६, इम्पलान्ट ६ हजार ६ सय ५३ ले प्रयोग गरेका छन् । एक वर्षको अवधिमा ४ लाख ३३ हजार ५ सय १ कण्डम वितरण गरिएको सूचना अधिकारी डिसीले बताए ।  

परिवार नियोजनका साधनहरूका बारेमा जानकारी हुँदाहुँदै पनि यसको प्रयोग बढेको देखिँदैन । अधिकांश महिलाहरूमा परिवार नियोजनका साधन प्रयोग गर्नाले सधैँका लागि गर्भ नरहने डर रहने गरेको पाइन्छ । कसै कसैले यसले महिनावारी गडबडी गर्ने तथा पाठेघरमा असर गर्ने तथा क्यान्सर नै हुन सक्ने डर पनि गाउँ समाजमा रहेको उनको भनाई छ । 

परिवार नियोजन सम्बन्धी विज्ञसँग परामर्श नै नगरी यस सम्बन्धी पूर्ण ज्ञान नभएका मानिसहरूले भनेका आधारमा परिवार नियोजनका साधनका बारेमा भ्रम पालेर धेरै दम्पतीहरू रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । 

अधिकांश महिलाहरूमा गर्भ नराख्ने चाहाना हुने तर परिवार नियोजनका साधनहरू प्रयोग गर्न डराउने र यस सम्बन्धी परामर्श लिन लजाउने गरेको सूचना अधिकारी डिसीले बताए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button