तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता परिवारलाई “परिचय पत्र” वितरणमा तीव्रता

बर्दिया । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले बेपत्ता परिवारका सदस्यहरूलाई “परिचय पत्र” वितरणको कामलाई तीव्रता दिएको छ । 

नेपालका विभिन्न जिल्लामा वितरण गर्दै हाल बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिकामा परिचयपत्र वितरणमा तीव्रता दिइएको बेपत्ता आयोगका प्रवक्ता डाक्टर गंगाधर अधिकारीले जानकारी दिनुभयो । 

नेपालमा हालसम्म विभिन्न जिल्लामा २ सय ५० बेपत्ता पारिएका व्यक्तिका १ हजार ३ सय भन्दा बढी बेपत्ता परिवारका सदस्यहरूलाई परिचय पत्र वितरण गरिसकेको प्रवक्ता अधिकारीले बताउनुभयो । 

यस अघि नेपालमा पहिलो पटक बर्दिया जिल्लाको गुलरियामा २०७७  सालको माघ १५ गते बर्दियामा नमुनाको रुपमा बेपत्ता पारिएका व्यक्तिका ६ घरपरिवारका २१ जना सदस्यलाई परिचय पत्र वितरण गरिएको थियो । 

बर्दियामा आजसम्म ५६ बेपत्ता परिवारलाई परिचय पत्र वितरण गरिएको छ । सशस्त्र द्वन्द्वका बेलामा बर्दियामा मात्र २ सय ५० जना व्यक्ति बेपत्ता रहेको गोचाली परिवार नाम संस्थाले गरेको सर्वेक्षणको तथ्याङ्कमा उल्लेख छ । 

नेपालमा सशस्त्र द्वन्द्वको बेलामा आफ्नो व्यक्ति बेपत्ता भएको भन्दै ३ हजार भन्दा बढिले आयोगमा उजुरी दिनु भएको थियो । त्यस मध्यबाट आयोगले २ हजार ५ सय जना व्यक्तिको छानबिन प्रक्रिया शुरु गरेर अनुसन्धान जारी राखेको छ । त्यही अनुसन्धानको क्रममा ३१ जनालाई सार्वजनिक गरिसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button