तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल–भारत संयुक्त सैनिक अभ्यास सम्पन्न

काठमाडौँ । भारतको पिथौरागढमा सञ्चालन भएको तालिम INDO-NEPAL BATTALION LEVEL COMBINED TRAINING “EX. SURYA KIRAN- XV” औपचारिक रुपमा सम्पन्न भएको छ । तालिम २०७८ आश्विन ०४ गतेबाट १६ गतेसम्म चलेको थियो ।

उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानीको नेतृत्वमा ३०० जना र भारतीय सेनाका ४०० जना फौज सहभागी भएका थिए । संयुक्त सैनिक अभ्यासमा विभिन्न सैनिक युद्धकला, अभ्यासका साथै विपद् एवं कोभिड–१९ जस्ता महामारीको दौरान सुरक्षा फौजको भुमिका आदिका बारेमा अभ्यास गरिएको थियो भने सहभागी फौजहरूले आ–आफ्नो पेशागत अनुभवहरू समेत साटासाट गरेका थिए । 

भारतीय सेना मध्य कमाण्ड सेनापति रथी एस.एस. महलद्वारा अन्तिम प्रवचन गर्नु भएको उक्त कार्यक्रममा नेपाली सेनाको मध्य कमाण्ड उपरथी विनय विक्रम राणा, श्री नं. ३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कुमार बाबु थापा, दुवै देशका सैनिक सहचारीहरू तथा भारतीय सेनाबाट सहभागी गणका कमाण्डिङ्ग अफिसर लगायतको उपस्थिति रहेको थियो ।

नेपाली सेना र भारतीय सेना बीच सम्पन्न यस सैनिक अभ्यासले दुई देश बीच कायम रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउनुका साथै दुवै देशका सेनाको सकलदर्जामा आधारभूत सैनिक सिपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button