तपाईँ सुन्दै हुनुहुन्छः

अङ्गुर बिक्री नभएपछि किसानहरू चिन्तित

डोल्पा । डोल्पा जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोई लगायत स्थानमा फलेको अङ्गुर बिक्री नभएपछि किसानहरू चिन्तित भएका छन् ।

नगरपालिकाको सहयोगमा तीन वर्षअघिदेखि सुरु गरिएको अङ्गुर खेतीले फल दिन थालेको दुई वर्ष भयो । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि लटरम्म अङ्गुर फलेको छ तर गत वर्ष जस्तै यस बर्ष पनि अङ्गुर बिक्री नहुने हो कि भन्ने चिन्ताले किसानहरूलाई सताएको छ ।

स्थानीय सुस्मिता श्रेष्ठले यस वर्ष आफ्नो फार्ममा करिब १५ क्विन्टलसम्म अङ्गुर फलेको तर एक भाग पनि बेच्न नसकिएको गुनासो गर्दै नेपालगन्ज, सुर्खेत लगायत बजारमा लगेर बेच्न पाए चार लाख रुपैयाँसम्मको अङ्गुर उत्पादन भएको बताउनुभयो ।

अर्का कृषक कमल हमालले फार्ममा करिब तीन लाखसम्मको अङ्गुर लटरम्म फलेको तर यस वर्ष मुस्किलले २५ हजारको मात्र बिक्री गरेको बताउनुभयो ।

त्रिपुराकोट, गल्ली, रल्ली, रङ्ग र खदाङमा गरेर करिब ५० कृषकले व्यावसायिक रूपले अङ्गुर खेती गरेका छन् ।

त्रिपुरा सुन्दरी नगरपालिकाले व्यावसायिक अङ्गुर खेतीका लागि पटक पटक गरेर दुई करोड ४० लाख लगानी गरेको छ ।  व्यावसायिक खेती गर्न इच्छुक कृषकलाई नगरपालिकाले निःशुल्क बिरुवा वितरणदेखि एङ्गल र जाली किन्नका लागि समेत रकम खर्चेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button