सल्यानमा भाइरल ज्वरोका बिरामी बढे

सल्यान । मौसममा आएको परिवर्तनसँगै सल्यानमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।
केही हप्तायता मौसमी भाइरल ज्वरोका बिरामी बढेको सल्यान जिल्ला अस्पतालले जनाएको छ ।
जिल्ला अस्पताल, स्वास्थ्य चौकीलगायत निजी अस्पतालहरूमा बिरामीको चाप बढ्दै जान थालेको छ ।
पहिलेभन्दा अहिले बिरामीको सङ्ख्या बढेको सल्यान जिल्ला अस्पताल सल्यानका डा.एन्जिला श्रेष्ठले जानकारी दिनुभयो । अहिले दैनिक २० देखि २५ जनासम्म रुघाखोकी तथा ज्वरोका बिरामी आउने गरेको उहाँले बताउनुभयो ।
मौसममा आएको परिवर्तनसँगै बालबालिकादेखि वयस्कसम्मका सबैमा भाइरल देखिएको उहाँले बताउनुभयो । कोरोनाको शङ्का लागेका बिरामीलाई कोरोना चेकजाँच गराउने गरेको उहाँले जानकारी दिनुभयो ।
सल्यान जिल्ला अस्पतालमा शुक्रवार बाहेक दैनिक १ सय ५० देखि २०० सय बिरामी आउने गरेका छन् । ज्वरो आउने बित्तिकै आत्तिने भन्दा पनि बालबालिकालाई हेरचाह गर्न उहाँले सुझाव दिनुभएको छ ।
भाइरल ज्वरोबाट बच्न पानी उमालेर खान, समूहमा हिँडडुल नगर्ने, आराम गर्न, झोलिलो पदार्थ बढी खान डा. श्रेष्ठले सुझाव दिनुभयो ।
उहाँले रुघाखोकी ज्वरो आएमा स्वास्थ्य संस्थामा ल्याउन र उपचारमा ध्यान दिन सार्वजनिक अपिल समेत गर्नुभएको छ ।
सामान्य लक्षण लगत्तै उपचारका लागि ल्याउनुपर्ने र खानपान, सुरक्षा र सरसफाइमा विशेष ध्यान दिनुपर्ने चिकित्सकको सुझाव रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्