तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा जीपले ठक्कर दिँदा छहारीमा बसेका पाँच विद्यार्थी घाइते

सल्यान । सल्यानमा डबल क्याप जीपले ठक्कर दिँदा छहारीमा बसेका पाँच विद्यार्थी घाइते भएका छन् । 

बागचौरदेखि सल्यान खलङ्गा आउँदै गरेको लु २ च ५७०१ नम्बरको जीपले शारदा नगरपालिका–२ बाङ्गेसल्लामा आज बिहान रुखको छहारीमा बसिरहेका विद्यार्थीलाई ठक्कर दिएको हो । 

जीपले ठक्कर दिँदा सल्यान शारदा नगरपालिका–६ बरलाका अन्दाजी १८ बर्षीया मिना परियार, सोही ठाउँकी अन्दाजी १८ बर्षीया रेखा बुढाथोकी, १६ बर्षीया सुशीला नेपाली, १८ बर्षीया दीपा बुढाथोकी र १८ बर्षीया सुनिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

घाइते मध्ये सुशीला, दीपा र सुनिताको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिनुभयो । 

घाइते पाँचै जनाको श्रीनगरस्थित मेट्रो अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको उहाँले बताउनुभयो । 

घाइते सबै विद्यार्थी शितलपार्टीमा रहेको शिबजन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन । उनीहरू विद्यालय आउँदै गर्दा छहारीमा बसिरहेका थिए । 

जीपको ओभर स्पिडका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जीपका चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको सूचना अधिकारीले बताउनुभयो । जीपमा सवार अन्य तीन जनालाई भने केही नभएको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button