ज्येष्ठ नागरिकका गुनासा : ‘निःशुल्क उपचारदेखि यातायात सेवा पाएनौ’

जुम्ला । जुम्लाका ज्येष्ठ नागरिकहरुले सरोकारवालालाई गुनासै गुनासा गरेका छन् । नेपालको संविधानले व्यवस्था गरेका ज्येष्ठ नागरिकका हक अधिकार कार्यान्वयनमा स्थानीय तह मौन रहेको उनीहरूको गुनासो छ ।
निःशुल्क स्वास्थ्य उपचार, यातायात सेवामा छुट, सहज बैङ्किङ सेवा, निःशुल्क स्वास्थ्य उपचार देखि बिमा लगायतका कुनै पनि सेवा नपाएको ज्येष्ठ नागरिक सङ्घ जुम्लाका अध्यक्ष तीर्थराज भारतीले गुनासो पोख्नुभयो ।
उहाँले भन्नुभयो,“अस्पतालमा निःशुल्क उपचार, यातायातमा ५० प्रतिशत छुट, निःशुल्क स्वास्थ्य बिमा लगायतका ज्येष्ठ नागरिकका अधिकार कुण्ठित छन् ।
सङ्घीयतापछि लक्षित वर्ग तथा ज्येष्ठ नागरिकका हक अधिकार कार्यान्वयनमा ढिलासुस्ती भइरहेकोले कुनै कार्यालयमा जाँदा मगन्तेजस्तो व्यवहार गर्ने गरेको समेत अध्यक्ष भारतीले दुखेसो गर्नुभयो ।

ज्येष्ठ नागरिकहरूको सुरक्षा, सेवा सुविधा तथा हक अधिकार कार्यान्वयनका लागि जुम्लाका आठै स्थानीय तह मौन रहेको तातोपानीका ज्येष्ठ नागरिक दल बहादुर खड्काले बताउनुभयो ।
उहाँका अनुसार उपचार गर्दा अस्पताल, यात्रा गर्दा गाडीमा, बैङ्कमा लगायत सबै क्षेत्रमा ज्येष्ठ नागरिक हेला र अपहेलित भइरहेका छन् । दिवसका अवसरमा दोसल्ला, टोपी लगाइदिएर हर्लिक्स दिएर औपचारिकता निभाउने र ज्येष्ठ नागरिकलाई व्यवहारमा हेला गर्ने गरेको अर्का ज्येष्ठ नागरिक दयादत्त हमालको गुनासो छ ।
बिहीबार मनाइने ३१ औ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको पूर्व सन्ध्यामा बुधवार जुम्लामा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा मानव अधिकार आयोग जुम्लाका मानव अधिकार अधिकृत किरण बरामले संविधानमा ज्येष्ठ नागरिकका हक अधिकार, अवस्था, समस्या तथा आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
ज्येष्ठ नागरिकले यातायातमा पाउने ५० प्रतिशत छुटदेखि निःशुल्क उपचार, निःशुल्क स्वास्थ्य बिमा सहज बैङ्किङ सेवा लगायतका कानूनी प्रक्रियालाई व्यवहारमा कार्यान्वयन गर्ने विषयमा सरोकारवाला एकजुट हुनुपर्नेमा राष्ट्रिय मानव अधिकार आयोगका मानव अधिकार अधिकृत धनराज शाहीले जोड दिनुभयो । बिहीबार आज जुम्लामा ३१ औँ ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।








प्रतिक्रिया राख्नुहोस्