जुम्ली रैथाने बाली प्रवर्द्धनमा विज्ञको चासो, खेतीमा किसानको आकर्षण

जुम्ला । जुम्लाको रैथाने बालीको संरक्षण तथा प्रर्बद्धनमा विज्ञले चासो दिनुभएको छ ।
रैथाने बालीको खेतीमा जुम्लाका किसानको आकर्षण देखिएको छ । लोपोन्मुख जुम्लाको काल मार्सी धान, चिनो कागुनो, कोदो र रातो मार्से लगायतका रैथाने बालीको संरक्षणमा विज्ञहरूले चासो दिनुभएको छ ।
बढ्दो बजार माग र महत्त्वलाई मध्यनजर गर्दै जुम्ली किसान पनि पछिल्लो समय रैथाने बालीको प्रर्बद्धनमा जुटेका छन् ।
जुम्ली रैथाने अन्नबालीको उत्पादन बढाउन, किसानको जीवनस्तर उकास्न कृषि विज्ञ, किसानहरू लागि परेका छन् ।

लिर्वड संस्थाले जुम्लाको रैथाने बाली संरक्षणका लागि किसानलाई प्राविधिक तथा सैद्धान्तिक विषयमा सिकाउँदै आएको छ ।लिर्वडले जुम्लामा विगतका वर्षदेखि न्यून लगानी, थोरै परिश्रमबाटै रैथाने बालीको उत्पादन वृद्धि गर्न मार्सी धानको अनुसन्धान तथा अन्तर जिल्लाका किसानहरूको अनुभव साटासाट गर्ने, खेती प्रणाली, उत्पादन वृद्धि, बाली सङ्कलन भण्डार, बाली दर्ता तथा बजारीकरण लगायतका विषयमा काम गर्दै आएको छ ।
लिर्वडको उत्परिवर्तनशील बाली प्रजनन परियोजनामार्फत तातोपानी एैरेनीको एक मार्सी फाँटमा विगतदेखि अनुसन्धान भइरहेको छ ।
मङ्गलवार मार्सी धान अनुगमन गर्न जुम्ला पुगेका लिर्वड पोखराका बाली प्रजनक तथा विज्ञ टिम लिडर श्रीप्रसाद न्यौपाने मार्सी धानको उत्पादन वृद्धिका लागि बहुरूपी जातको खेतीमा जोड दिनुपर्ने अनुसन्धानले देखाएका बताउनुभयो ।
उहाँले भन्नुभयो, “जुम्लामा न्यून लगानीमा उत्पादन वृद्धि गर्न, गरिब किसानको आय स्तर उकास्न, बहुरुपिय जातको विकास गर्नुपर्ने, बहुरुपिय जातले उत्पादन बढी दिने, रोग किराको जोखिम पनि कम हुने, पोषणतत्व बढी हुने स्वादिष्ट हुने जस्ता कुरा अनुसन्धानबाट खुलेको छ ।”
न्यून लगानीमा विशेष गरी मार्सी धान र सिमीको उत्पादन वृद्धि लक्ष्यका साथ लिर्वडले अनुसन्धान जुम्लामा जारिरहेको छ ।
रैथाने बालीको अनुसन्धानसँगै जुम्ली कागुनो र रातो मार्सीलाई कानुनी रुपमा दर्ता समेत गरिएको उहाँको भनाई छ ।
जुम्लाको रैथाने बालीको उत्पादन वृद्धि, उन्नत जात निकाल्न अनुसन्धान जारी भए पनि किसानको जीवनस्तर उकास्न, बाली दर्ता गर्न, बजारीकरण गर्न स्थानीय तहमा ठोस नीति बन्नुपर्ने बाली प्रजनक न्यौपानेको भनाई छ ।
तातोपानी ४ का किसान राजकन्या उपाध्यायले माग बढ्दै गएपछि काली मार्सी धान, सिमी, चिनो कागुनो मार्से लगायतका रैथाने बालीको खेतीमा अग्रसर भएको बताउनुभयो ।

“उत्पादन वृद्धि गर्न कृषिमा आधुनिकीकरण बहुरूपी जातको खेतीका जोड दिनुपर्दो रहेछ । अब त्यसै गर्छौँ। उन्नतले उत्पादन बढी दिए पनि माग रैथाने बाली छ । हामी रैथाने बाली उत्पादन, प्रवर्द्धन तथा खेती विस्तारमा जुटेका छौ ।” उहाँले भन्नुभयो ।
त्यस्तै तातोपानीकै किसान गोर्ख हमालले भन्नुभयो, “मार्सी धान, सिमी मात्र नभई हाम्रा हरेक रैथाने बाली संरक्षण गर्न जरुरी छ । उत्पादन वृद्धि तथा खेती विस्तारका अनुसन्धान लाई जोड दिनुपर्छ । उत्पादन, सङ्कलन, लेबलिङ, प्याकेजिङ तथा बजारीकरणमा स्थानीय तहले सहजीकरण गर्नुपर्छ ।”
मङ्गलवार भ्रमणमा आउनुभएका लमजुङका कागुनो उत्पादक किसान भक्त बहादुर गिरीले लिर्वडकै सहयोगले लमजुङ लोप हुन थालेको कागुनो खेती विस्तार भएको, बजारमा माग बढेको, विभिन्न परिकार बनाएर पर्यटकलाई खुवाउने गरेको, अनुभव सुनाउनुभयो । गत वर्ष मात्रै २० मुरी कागुनो उत्पादन भएको भन्दै लोपोन्मुख जुम्ली मार्सीलाई उत्पादन वृद्धिमा जोड दिनुपर्ने बताउनुभयो ।
त्यस्तै लमजुङकी किसान सानुमाया गुरुङले लोप भएको कागुनोलाइ पकेट क्षेत्रकै रुपमा खेती गरेर उत्पादन गरेको बताउनुभयो ।
लमजुङको कागुनोको खिर दुई वर्ष पहिले काठमाडौँमा भएको खाद्य मेलामा प्रथम भएपछि अझै कागुनो खेतीप्रति आकर्षित भएको सुनाउनुभयो ।
रैथाने बाली उत्पादन वृद्धिका कार्यक्रम तथा बहस गरे पनि जुम्लामा दुई आव यता देखि रैथाने बाली उत्पादन ह्वात्तै घटेको छ ।
आव ०७४/७५ र ०७५/७६ मा २७ हजार मेट्रिक टन रैथाने बाली उत्पादन भए पनि बितेको आव ०७६÷७७ मा १२ हजार मेट्रिक टन मात्रै उत्पादन भएको छ । करिब १४ हजार मेट्रिक टन रैथाने बाली उत्पादन घटेको छ ।








प्रतिक्रिया राख्नुहोस्