तपाईँ सुन्दै हुनुहुन्छः

चार महिनापछि ल्यायो बनगाडले ७४ करोडको बजेट

सल्यान । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएको छ ।  झन्डै चार महिना पछि नगरपालिकाले नीति कार्यक्रम र बजेट ल्याएको हो । 

असार १० गतेभित्र ल्याई सक्नु पने संवैधानिक प्रावधान भए पनि जनप्रतिनिधिको आन्तरिक विवादले बजेट आउन सकेको थिएन । जनप्रतिनिधिको विवाद केही समाधान भएपछि नगरपालिकाको नवौँ नगर सभाले बुधवार ७४ करोडको बजेट पारित गरेको छ । चालु तर्फ ६० प्रतिशत र पूजीगत तर्फ ४० प्रतिशत बजेट ल्याएको नगरपालिकाले जनाएको छ । नगर सभाले ७४ करोड २९ लाख २५ हजार बजेट ल्याएको लेखा अधिकृत दिनेश भण्डारीले बताए । 

ढिलै भए पनि जनतामुखी बजेट ल्याएको मेयर गोविन्द पुनले बताए । पर्यटनलाई जोड दिएर शिक्षा, स्वास्थ्य, सडक, खानेपानी र विद्युत् लगायतका जनताका आधारभूत विषयलाई प्राथमिकता दिएको पुनको भनाई छ । 

चालु आर्थिक वर्षका लागि विकासे बजेटसँगै लक्षित वर्गलाई सम्बोधन गर्ने खालका विभिन्न कार्यक्रम पनि नीति तथा कार्यक्रममा समावेश गरेको उपमेयर मञ्जु यरीले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button