तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरको गडडाचौकी र गौरीफन्टा नाका झन्डै डेढ वर्षपछि पूर्णरुपमा सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको गडडाचौकी र गौरीफन्टा नाका झन्डै डेढ वर्षपछि आजदेखि पूर्णरुपमा खुलेका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुल्ला गर्ने निर्णय गरेको र सोही निर्णयलाई कार्यान्वयन गर्ने गरी जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले नाका खुल्ला गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँले कञ्चनपुरका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टा नाका झन्डै डेढ वर्षपछि आजबाट पूर्णरुपमा सञ्चालनमा आउने र दुवै देशका नागरिक र सवारी साधन निरवाद रुपमा आवतजावत गर्न पाउने बताउनुभयो । 

सीमा नाका पूर्णरुपमा सञ्चालनमा आएसँगै नेपाल भारत मैत्री बस सेवा , भारतीय सवारी साधनहरू र अन्य सवारी साधन र मानिसहरू सहजै आवतजावत गर्न सक्नेछन् ।

यसअघि नाका आंशिक रुपमा मात्रै सञ्चालनमा आएको र भारतीय नागरिक र सवारी साधनलाई नेपाल प्रवेश गर्न रोक लगाएको थियो तर नेपालीहरू भने भारत जानमा कुनै रोकटोक गरिएको थिएन ।

अहिले चाडपर्वको समय भएकाले सुदूरपश्चिमका ठुला नाकाबाट दैनिक ५ देखि ६ हजारको हाराहारीमा भारतबाट नेपाल आउने नेपालीहरूको भिड रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button