चाडपर्वमा बढी यात्रु नबोक्नु : प्रशासन

तनहुँ । नेपालीहरूको प्रमुख चाडपर्वहरू नजिकिँदै गर्दा सवारी साधनमा हुने भिड नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले निगरानी बढाउने भएको छ । महामारी कायमै रहेको भन्दै प्रशासनले चाडपर्वको बेलामा क्षमता भन्दा बढी यात्रु नचढाउन यातायात व्यवसायीलाई निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले यातायात व्यवसायीलाई दुर्घटनासँगै संक्रममण बढ्न सक्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो । प्रशासनले सचेत गराएपछि बैठकले यस्ता कार्य रोक्ने निर्णय गरेको छ । यसै गरी, चाडबाडमा भिडभाड कम गर्नका लागि यातायातका साधनहरू स्थानीय रुटमा थप्ने पनि निर्णय गरेको छ ।
यातायातका साधन कम चल्दा नै क्षमताभन्दा बढी यात्रु बोकिने अवस्था आएको निष्कर्षपछि प्रशासनले यस्तो निर्णय गरेको हो, जसमा यातायात व्यवसायी सहमत पनि भएका छन् । प्रशासनले चाडपर्वको समयमा यात्रुसँग बढी भाडा लिने गरेको गुनासो आउने गरेको प्रसङ्ग निकाले पनि यातायात व्यवसायी बढी भाडा नलिन सहमत भएका छन् ।
‘कुनै पनि हालतमा सिट क्षमताभन्दा बढी यात्रु नचढाउने निर्णय भएको छ,’ प्रजिअ अर्यालले भन्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्