तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा घरधुरी सङ्कलन अन्तिम चरणमा

file photo

डोटी । राष्ट्रिय जनगणना २०७८ को पहिलो चरणको गणनाका लागि घरधुरी सङ्कलनका लागि डोटीका नौ वटै स्थानीय तहमा सुपरिवेक्षक खटिएको छ । जिल्ला जनगणना कार्यालय डोटीले सुपरिवेक्षकलाई तालिम दिएर यही असोज १८ गतेसम्मका लागि प्रत्येक घरपरिवारको सूचीकरण लिइसक्ने गरी टोली घरदैलोमा खटाएपछि उक्त टोलीले काम तीव्र रूपमा अगाडि बढाएको कार्यालयले जनाएको छ । आफ्नो तोकिएको काम सकेर सङ्कलन गरिएको तथ्याङ्क लिएर टोली केही दिनमा जिल्ला फर्किने तयारीमा रहेको बताइएको छ ।

गाउँमा खटिएका सुपरिवेक्षकले घरपरिवार घरमा बसोबास भएको छ वा छैन, घर प्रयोगको किसिम, घर कति पुरानो, घरमा परिवारको सङ्ख्या तथा कृषि विवरण आदिको बारेमा तथ्याङ्क लिने काम अन्तिम चरणमा पुर्‍याएको जिल्ला जनगणना कार्यालयका प्रमुख खेमराज भट्टले जानकारी दिनुभयो । 

उहाँका अनुसार सुपरिवेक्षकले अहिले यहाँका नौ वटै स्थानीय तह दिपायल सिलगढी, शिखर नगरपालिका, केआइसिंह, आदर्श, सायल, पूर्वीचौकी, बोगटानफुड्सिल, बडिकेदार तथा जोरायल गाउँपालिकाका स्थानीयवासीका घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् । सूचीकरण तथा घरधुरी सङ्कलनका लागि जिल्लाभरिमा कूल ७५ जना सुपरिवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयले जनाएको छ ।
 उक्त टोलीले यही असोज १८ गतेसम्म सञ्चालन हुने पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना गर्न कार्य गर्ने छ । सुपरिवेक्षकले घरको विवरण, घर मुलीको नाम, पशुपक्षीको विवरण, बैङ्क खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० वटा प्रश्न सोध्ने काम गरिरहेका छन् । भौगोलिक दृष्टिकोणले दुर्गम तथा टाढा भएका कारण यहाँका स्थानीय तहका गाउँमा परिचालन गरिएका सुपरिवेक्षकलाई तथ्याङ्क सङ्लनमा केही समस्या भएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । 

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काममा प्रभावित भएको प्रमुख भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय गाउँमा नेट मात्रै होइन फोनसमेत लाग्दैन, गाउँमा गएकालाई सम्पर्क गर्न समेत कठिन भएको छ, तथ्याङ्क सङ्कलनमा समस्या हुने नै भयो नि ।” समय छोटो भएको र रकम पनि नआएकोले  गाउँमा गएका गणकलाई पैसा दिन बजेट अभाव हुँदा केही समस्या भएको प्रमुख भट्टले गुनासो गर्नुभयो । 

सुपरिवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्याङ्क सङ्कलन गर्नुपर्ने नियम रहेका कारण नेट र फोन कतिपय गाउँमा नभएका कारण समस्या भएको जिल्ला जनगणना कार्यालयले जनाएको छ । जिल्ला सदरमुकामस्थित दिपायल सिलगढी तथा शिखर नगरपालिकाबाहेक अन्य सात वटा स्थानीय तहमा खटिएका सुपरिवेक्षकलाई तथ्याङ्क सङ्कलन गर्न समस्या भएको बताइएको छ । 

गाउँमा खटिएका सुपरिवेक्षकका सुरक्षाका लागि स्थानीय तहमा रहेका प्रहरी चौकीसँगको समन्वयमा प्रहरी टोली खटाइँदै आएको राष्ट्रिय जनगणना जिल्ला संयोजक निमित्त प्रमुख जिल्ला किरण जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “अधिकांश सुपरिवेक्षक स्थानीय तहकै नागरिक छन्, उनीहरू गाउँमा जाँदा सुरक्षाका लागि त्यहीका सुरक्षाकर्मीको समन्वयमा खटाउने व्यवस्था मिलाएका छौँ, सुरक्षाको समस्या केही छैन ।”

विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या दुई लाख ११ हजार ७४६ रहेको छ । पहिलो चरणमा सङ्कलन गरिएको घरधुरी तथ्याङ्कका आधारमा आगामी कात्तिक महिनामा मूल गणना गरिने कार्यालयले जनाएको छ । मूल गणना अगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ । प्रत्येक दश दश वर्षमा जनगणना गरिन्छ । यस पटक भइरहेको राष्ट्रिय जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता राष्ट्रिय जनगणना, २०७८’ रहेको छ ।

सेवा प्रवाहमा समस्या

जिल्ला प्रशासन कार्यालय डोटीमा प्रमुख जिल्ला अधिकारी तथा प्रशासकीय अधिकृत नपठाएका कारण सेवा प्रवाहमा कठिन हुँदै आएको छ । प्रतिअ नहुँदा जिल्लामा विभिन्न सुरक्षासम्बन्धी बैठक हुन सकेका छैनन् भने प्रशासकीय अधिकृत नहुँदा नागरिकता वितरणदेखि अन्य सिफारिसका कार्यमा सेवाग्राहीलाई समस्या हुने गरेको बताइएको छ ।

यति मात्र नभई प्रशासनमा तोकिएका अन्य दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको दिपायल सिलगढी नगरपालिका–५ का रामबहादुर भण्डारीले बताउनुभयो । यहाँ कार्यरत प्रतिअ सुनिल खनाललाई गृह मन्त्रालयमा सरुवा गरिएपछि जिल्ला प्रशासन कार्यालय प्रमुखविहीन बनेको हो । प्रतिअको सरुवा भएपछि अहिले निमित्त प्रतिअ किरण जोशीलाई तोकिएको छ । एक जना मात्रै निमित्त प्रतिअ जोशीले नागरिकता प्रदान, राहदानी सिफारिसदेखि अन्य विभिन्न प्रकारका सेवा प्रदान गर्नुपर्ने बाध्यता रहेको छ ।

कर्मचारी अभावले सेवाग्राहीलाई कठिनाइ भएको निमित्त प्रतिअ जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रतिअ पनि हुनु हुन्न, प्रशासकीय अधिकृत पनि छैनन्, काममा समस्या भएको छ, सेवाग्राहीलाई पनि गारो भएको छ ।” प्रतिअसहित २१ जनाको दरबन्दी रहेकामा हाल १७ कर्मचारी मात्र कार्यरत छन् । कार्यरत कर्मचारीमा केही कारागारमा पठाइएका कारण पनि सेवाग्राहीका काममा समस्या उत्पन्न भएको बताइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button