तपाईँ सुन्दै हुनुहुन्छः

अस्थायी ट्राफिक प्रहरी पोष्ट स्थापना

अछाम । अछाममा थप एउटा अस्थायी ट्राफिक प्रहरी पोस्टको कमलबजारमा स्थापना गरिएको छ ।

जिल्लाको पूर्वी क्षेत्रलाई लक्षित गरी ट्राफिक पोष्टको स्थापना गरिएको प्रहरीले जनाएको छ ।

कमलबजार बजार विकास तथा प्रवर्द्धन समितिका अध्यक्ष काशीराम बजगाईँको अध्यक्षतामा भएको कार्यक्रममा कमलबजार नगरपालिका प्रमुख ओमप्रकाश विष्टले पोष्टको उद्घाटन गर्नुभयो ।

नगर प्रमुख विष्टले अस्थायी ट्राफिक प्रहरी पोस्ट सञ्चालन भए सँगै सडक दुर्घटना तथा अन्य आपराधिक क्रियाकलापहरूमा केही हद सम्म कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

साथै उहाँले नगरपालिका अन्तर्गतकै गैरीटाँड बजारमा रहेको अस्थायी प्रहरी पोस्टलाई एउटा मोटरसाइकल चाँडै नै उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले ट्राफिक नियमको पालना गर्न र गराउन आम नागरिकलाई आग्रह गर्नुभयो ।

कमलबजार नगरपालिकाका नगर उप प्रमुख भुमिसरण ढकाल बजगाईँले सञ्चालनमा आएको अस्थायी ट्राफिक प्रहरी पोस्टलाई स्थायी पोस्टको रुपमा विकास गरिनु पर्नेमा जोड दिनुभयो ।

कमलबजार नगरपालिकामा समुदाय प्रहरी साझेदारी अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको र अपराध रोकथामका लागि नागरिक र प्रहरी बिच सहकार्य हुनु पर्नेमा इलाका प्रहरी कार्यालय कमलबजारका इन्चार्ज तथा प्रहरी निरीक्षक लक्ष्मीराज जोशीले जोड दिनुभयो ।

हाल एक जना ट्राफिक प्रहरी रहने प्रहरी निरीक्षक जोशीले बताउनु भयो ।

शान्तिपूर्ण र सुरक्षित समाजका लागि कमलबजार नगरपालिका र इलाका प्रहरी कार्यालय कमलबजारको सहकार्यमा अस्थायी ट्राफिक प्रहरी पोस्ट सञ्चालनमा आएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button