तपाईँ सुन्दै हुनुहुन्छः

भीमदत्त नगरपालिकामा कुकुरलाई रेबिजविरुद्धको खोप

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १५ मा कुकुरलाई रेबिज विरुद्धको खोप लगाइएको छ । १५ औँ विश्व रेबिज सप्ताहमा सञ्चालित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मङ्गलवार बिहान खोप लगाइएको  छ ।

जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले वडा कार्यालयसित सहकार्य गरी रेबिज विरुद्धको खोप लगाएको हो । यस अघि सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मटेला र तुमडानीमा कुकुरहरूलाई खोप लगाइएको छ ।

भेटेरिनरी अस्पतालका प्रमुख डा. पान सिंह ठगुन्ना सहित पशु चिकित्सकहरू महेन्द्रराज पाण्डेय लगायतले खोप लगाए ।

कार्यक्रममा भीमदत्त नगरपालिका १५ का अध्यक्ष भीम बहादुर शाहुले कुकुरहरूलाई रेबिज विरुद्ध खोप लगाएपछि रोग फैलिने त्रास हटेको बताउनुभएको छ ।

‘यो क्षेत्र निकुञ्ज किनारको भएकाले त्यहाँबाट जनावरबाट कुकुर र कुकुरबाट जनावरमा सर्ने सम्भावना निकै हुन्छ’ उनले भने,‘अब यताउता कहीँ सर्दैन, मान्छेबाट कुकुरमा पनि सर्दैन ।’

वडा कार्यालयले बर्षेनी कुकुरहरूलाई रेबिज विरुद्धको खोप लगाउँदै आएको अध्यक्ष शाहुले बताए । भेटेरिनरी अस्पतालका प्रमुख डा. ठगुन्नाले खोल लगाएका कुकुरबाट रोग फैलिन नसक्ने भएकाले सबैले आ–आफ्ना कुकुरलाई अनिवार्य रुपमा खोप लगाउनु पर्ने बताउनु भएको छ ।

‘घर पालुवा कुकुर भन्दा छाडा कुकुरको समस्या छ, घर पालुवालाई त घरधनीले नै लाएको हुन्छ’ उनले भने,‘छाडालाई पनि खोप लगाउन स्थानीय सरकारले पहल गर्नु पर्छ’ उनले भने ।

कार्यक्रममा वडा सदस्यहरु दामोदर भट्ट, नन्दराम भाट, समाजसेवी प्रेम सिंह भण्डारी, वडा कार्यालयका कर्मचारी सहभागी भएका छन् ।

भीनपा १५ मा तीन सय भन्दा बढी कुकुर रहेको वडा कार्यालयका पशु स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button