तपाईँ सुन्दै हुनुहुन्छः

एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

file photo

डोटी। नेकपा (एमाले)बाट दल विभाजन गरी माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)को डोटी जिल्ला कमिटी घोषणा गरिएको छ । एकीकृत समाजवादीले पूर्वी चौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीको संयोजकत्वमा सोमबार १०५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो ।

जिल्ला सदरमुकाम सिलगढीमा रहेको दिपायल सिलगढी नगरपालिकाको सभा हलमा कार्यक्रम आयोजना गरी सो पार्टीका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीको प्रमुख आतिथ्यतामा डोटी जिल्ला कमिटी घोषणा गरिएको हो ।

दीर्घराज बोगटी नेकपा (एमाले)मा हुँदा र तत्कालीन (नेकपा) हुँदा जिल्ला कमिटी सचिवालय सदस्य हुनुहुन्थ्यो । बोगटी नेकपा एमालेबाटै विसं २०७४ को स्थानीय तह निर्वाचनमा डोटीको पूर्वी चौकी गाउँपालिकामा निर्वाचित अध्यक्ष हुनुहुन्छ । यसै गरी उक्त पार्टीले जानकी भट्टको संयोजकत्वमा ३७ सदस्यीय जनवर्गीय सङ्गठन अखिल नेपाल महिला सङ्गठनको जिल्ला कमिटी पनि गठन गरेको छ भने महेन्द्र कुँवरको संयोजकत्वमा ४१ सदस्यीय राष्ट्रिय युवक सङ्गठनको जिल्ला कमिटी पनि गठन गरिएको एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य तथा पूर्व सांसद मोहनबहादुर बमले जानकारी दिनुभयो ।

डोटीमा एमालेबाट प्रतिनिधिसभा सदस्य एवं पूर्व मन्त्री प्रेमबहादुर आले, संविधानसभा सदस्य तथा सभासद् हर्कबहादुर सिंह, पूर्व सांसद मोहन बम, सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री जोशी, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिजराज खड्कालगायत जनप्रतिनिधि एवं नेता एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लाग्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button