तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश साक्षर प्रदेश घोषणा

हेटौँडा । बागमती प्रदेशलाई आजबाट साक्षर प्रदेशको रुपमा घोषणा गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले आज प्रदेशलाई साक्षर प्रदेश घोषणा गरेको हो । प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशलाई साक्षर प्रदेश भएको घोषणा गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले साक्षर अभियानलाई सृजनात्मक रूपले अगाडी बढाउने बताउनुभयो ।

यस प्रदेशमा शिक्षाको ज्योतिलाई सबैतिर फैलाउनुपर्ने बताउँदै उहाँले भन्नुभयो–‘अहिले पूर्ण साक्षर नभए पनि अब भने शतप्रतिशत साक्षर गराउनका लागि सबै स्थानीय तह, जिल्ला समन्वय समितिहरू लाग्नुपर्छ ।’ पहिले महिलाहरू बेलुकाको समयमा मात्र प्रौढ कक्षा पढ्नुपर्ने बाध्यता रहेको रहे पनि अहिले त्यो समस्या हटेकाले अब सबै नागरिक साक्षर बन्नुपर्ने बताउनुभयो ।

जिल्लास्तरबाट सबै अभियनताहरु साक्षर अभियानमा लाग्न मुख्यमन्त्री शाक्यले निर्देशन दिनुभयो । घोषणाको काम सकिए पनि यसको कार्यान्वयन गर्न लाग्नुपर्ने बताउनुभयो । शान्तिपूर्ण र विभेद रहित नेपाल निर्माण गर्नका लागि काम गर्नुपर्ने बताउनुभयो । प्रदेशका सामाजिक विकास मन्त्री विजय सुबेदीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्रीहरू, सचिवहरू, मन्त्रालय र निर्देशनालयका कर्मचारीहरू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button