तपाईँ सुन्दै हुनुहुन्छः

फिल्म अभावका कारण खुल्न सकेनन् फिल्म हल

काठमाडौँ । कोरोनाका कारण ठूलो मार खेपिरहेको चलचित्र क्षेत्र अझै सुचारु हुन सकेको छैन । 

कोरोना संक्रमण कम हुँदै गएपछि सरकारले केही समय अगाडि नै सिनेमा हल खोल्ने अनुमति दिए पनि विभिन्न जिल्लामा निषेधाज्ञा कायमै रहेको र पूर्ण रुपमा सञ्चालन गर्न नपाएको कारण सिनेमा हल खुल्न नसकेको हल सञ्चालकहरू बताउँछन् ।

कोरोना सङ्क्रमणको दर कम भएसँगै लामो समयदेखि बन्द रहेका यातायात, उद्योग कलकारखाना, पर्यटन व्यवसाय, विद्यालय लगायतका सबै क्षेत्र बिस्तारै चलायमान हुन थालेका छन् । तर कोरोनाकै कारण ठूलो मार खेपिरहेको चलचित्र क्षेत्र भने फिल्म अभावका कारण सञ्चालन हुन सकेको छैन ।

सरकारले फिल्म हलहरू खोल्ने अनुमति दिएको भए पनि खोलिसकेपछि खर्च धेरै हुने र सीमित दर्शक भए पनि हल खोल्नै पर्ने बाध्यता हुने भएकाले राम्रो फिल्म नपाउँदासम्म हल बन्द गरिरहनुपर्ने अवस्था आएको क्यु एफ एक्स सिनेमा हलहरूको म्यानेजमेन्ट कम्पनी टिम क्वेष्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगा बताउनुहुन्छ । 

गत वर्ष पनि लकडाउनपछि फिल्म हलहरू खोल्दा पर्याप्त दर्शक हलसम्म नआएकै कारण आम्दानीभन्दा खर्च बढी भएको अनुभव सुनाउँदै यसपटक भने उत्कृष्ट फिल्म नपाउँदासम्म हल खोल्ने योजनामा आफूहरू नरहेको प्रमुख कार्यकारी अधिकृत अडिगाले बताउनुभयो ।

लामो समयदेखि बन्द रहेको फिल्म हल खोल्दा कोरोना सङ्क्रमणको भयका कारण दर्शक जाने हुन् वा होइनन् भन्ने द्विविधा एकातिर छ भने रिलिजको सुरुवात कस्तो फिल्मबाट गर्ने भन्ने विषयमा चलचित्र सङ्घले ठोस निर्णय गर्न नसक्दा हल खोलेर फिल्म रिलिज कहिले गर्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन ।

फिल्म निर्माण गर्दा ठूलो लगानी गरेका निर्माताहरुलाई लामो समयदेखि बन्द रहेका हलहरूमा सुरुमा नै आफ्नो फिल्म प्रदर्शन गर्दा चल्ने हो की होइन र हलसम्म दर्शकहरू नआउने पो हुन् की भन्ने डर एकातिर छ भने अर्कातिर फिल्म नै उपलब्ध नभएका कारण फिल्म हल खुलाउन समस्या देखिएको चलचित्र संघका महासचिव अशोक शर्माको भनाई छ । 

सरकारले फिल्म हल खोल्न अनुमति दिएको भए पनि देशका विभिन्न जिल्लामा अझै पनि निषेधाज्ञा कायमै रहेकाले काठमाडौँ उपत्यकासहित देशैभर एकै पटक हल खोल्न पाउनुपर्ने माग व्यबसायीहरुको रहेको छ ।

लामो समयदेखि बन्द रहेको फिल्म हल खोल्दा कोरोना सङ्क्रमणको भयका कारण दर्शक जाने हुन् वा होइनन् भन्ने द्विविधा एकातिर छ भने रिलिजको सुरुवात कस्तो फिल्मबाट गर्ने भन्ने विषयमा चलचित्र सङ्घले ठोस निर्णय गर्न नसक्दा हल खोलेर फिल्म रिलिज कहिले गर्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन ।

फिल्म हल सञ्चालनका लागि आवश्यक मात्रामा फिल्महरू नभएको कारण पनि खुल्न नसकेको भन्दै यसका लागि चलचित्र सङ्घ, निर्माता सङ्घ , हल सञ्चालक लगायतका सम्बन्धित सबै पक्षसँग छलफल चलिरहेकाले अब छिटै चलचित्र क्षेत्र सुचारु हुने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालको विश्वास छ । 

करिब २ वर्षदेखिको कोरोना सङ्क्रमणका कारण छायाकँन नहुँदा नयाँ नेपाली फिल्महरूका साथै नयाँ हिन्दी फिल्महरू पनि रिलिज नभएका कारण हलहरूमा देखाउन फिल्मको अभाव रहेको छ ।  यस्तो अवस्थामा हलमै पुगेर फिल्म हेरेर आनन्द लिने समय कहिले आउला ? यसै भन्न सकिन्न ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button