तपाईँ सुन्दै हुनुहुन्छः

जीवाष्म इन्धनको विकल्पमा हाइड्रोजन इनर्जीको सम्भाव्यता खोजी

काठमाडौँ । नेपालले जीवाष्म इन्धनको विकल्पमा हाइड्रोजन इनर्जीको सम्भाव्यता खोजी अघि बढाएको छ  ।

नेपाल आयल निगमको सहकार्यमा काठमाडौँ विश्वविद्यालयले हाइड्रोजन ऊर्जाको परीक्षण थालेको छ । काठमाडौँ विश्वविद्यालयले परीक्षणका क्रममा आएको नतिजाले विश्वविद्यालय उत्साहित भएको जनाएको छ । 

काठमाडौँ विश्वविद्यालय ग्रिन हाइड्रोजन ल्याबका प्रमुख डा विराजसिंह थापाले जीवाष्म इन्धनको भरपर्दो विकल्प हाइड्रोजन बन्न सक्ने बताउनुभयो । हाइड्रोजन प्रविधि करिब २०० वर्षअघि पत्ता लागेको हो । विकसित मुलुकले यसलाई प्रयोगमा ल्याइसकेका छन् । 

पानीबाट बिजुली निकालेर त्यो बिजुलीलाई पनि टुक्र्याएपछि हाइड्रोजन उत्पादन हुन्छ । हाइड्रोजनबाट बिजुली र बिजुलीबाट हाइड्रोजन पनि निकाल्न सकिन्छ । “एक किलोग्राम हाइड्रोजनबाट ५० युनिट बिजुली निकाल्न सकिन्छ । दुई किलो हाइड्रोजन सिलिन्डरमा भर्ने हो भने त्यो १०० युनिट बराबरको बिजुली बन्छ” ल्याब प्रमुख थापाले जानकारी दिनुभयो ।

ब्याट्रीभन्दा ४०० गुणा हलुका हुन्छ, हाइड्रोजन । यसले ठूला तथा मालवाहक गाडी, जहाज आदि सबै यातायातका साधन सञ्चालनका लागि सहज बनाउँछ । बैङ्क, सपिङ कम्प्लेक्स आदिका लागि जेनरेटरभन्दा यो धेरै राम्रो विकल्प हुनसक्छ । 

फलाम खानी, इँटा भट्टा, सिमेन्ट लगायत अत्यधिक ऊर्जा खपत हुने उद्योगमा प्रयोग गरिने कोइलालाई प्रतिस्थापन गर्न सकिन्छ । पेट्रोलियम पदार्थ, एलपी ग्यास, रासायनिक मल उत्पादनका क्रममा प्रयोग हुने ऊर्जा सबैलाई हाइड्रोजनले विस्थापन गर्न सक्ने प्रमुख थापाले दाबी गर्नुभयो ।

विश्वभर इन्धन निर्यात गर्ने मुलुक हाइड्रोजन ऊर्जा उत्पादनतर्फ लागेका छन् । ठूला तेल उत्पादक राष्ट्र साउदी अरब, संयुक्त अरब इमिरेट्स, ओमन लगायत ठूल्ठूला हाइड्रोजन प्लान्ट स्थापना गर्ने तयारी अघि बढाएको जनाएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button