तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले अझै ल्याएन बजेट

सल्यान  । जिल्लाको बनगाड कुपिण्डे नगरपालिकाले अझै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन । 

असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक प्रावधान भए पनि दुई महिना भन्दा बढी बितिसक्दा समेत बजेट ल्याउन सकेको छैन । 

जनप्रतिनिधिहरुबीच बजेट विनियोजनको विषयमा विवाद हुँदा बजेट आउन सकेको छैन । 

विवाद मिलाउन पटक पटक बैठक बसे पनि सहमति हुन सकिरहेको छैन । 

जनप्रतिनिधि बीचको विवाद र प्रमुख प्रशासकीय अधिकृत नहुँदा नीति तथा कार्यक्रम र बजेट ल्याउन समस्या भइरहेको उपमेयर मञ्जु यरीले बताउनुभयो । दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा तयारी भए पनि सम्पन्न गर्न गाह्रो भएको उहाँको भनाई छ । 

गत वर्षका केही योजनामा रकम भुक्तानी नहुँदा जनप्रतिनिधिबीच विवाद भएको उपमेयर यरीको भनाई छ । 

उहाँका अनुसार केही कर्मचारीको नियुक्ति र तलब खुवाउने विषयमा पनि जनप्रतिनिधिबीच विवाद छ । 

बहुमत वडा अध्यक्षहरूले प्रत्येक वडामा ८० लाखको सिलिङ नआएसम्म नगर सभामा बस्दैनौ  भन्ने आएपछि बजेट आउन ढिलाइ भएको मेयर गोविन्द पुनले बताउनुभयो । 

तीन दिनसम्म बैठक बस्दा पनि वडाध्यक्षहरू ८० लाख बजेटभन्दा तल बजेट विनियोजन गर्ने विषयमा सहमतिमा नआएको उहाँले बताउनुभयो  । 

नगरपालिकाको सीमित स्रोत साधन र विगतका योजनालाई पनि निरन्तरता दिनुपर्ने भएकाले उहाँहरूको माग अनुसार बजेट हुन नसकेको मेयर पुनको भनाई छ ।

बजेट सीमा निर्धारण समितिले वडाको बजेट ५० लाख तोकिसकेको र अब  कार्यपालिकाको बैठकबाट अनुमोदन गराई १० ÷१५ दिनमै बजेट आउने उहाँले बताउनुभयो । 

राजनीतिक खिचातानी र दलीय  स्वार्थले चालु आर्थिक वर्ष नीति तथा कार्यक्रम र बजेट आउन नसकेको कृष्ण माध्यमिक विद्यालय देवस्थलका प्रधानाध्यापक शिखर यरीले बताउनुभयो  । 

समयमै बजेट नआउँदा यहाँको जनजीविका, शैक्षिक सुधार, विकास निर्माण थप्प भएको उहाँको भनाई छ । 

यथाशक्य चाँडो नगर सभा बसेर कर्मचारीको मागसँगै दैनिक प्रशासनिक कार्य अघि बढाउन उहाँले आग्रह गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button