तपाईँ सुन्दै हुनुहुन्छः

पैसाको विवादमा आमाको हत्या गर्ने छोरा पक्राउ

सोलुखुम्बु । पैसाको विषयमा विवाद हुँदा आफ्नै आमाको हत्या गर्ने प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ की ८२ वर्षीया बडालक्ष्मी राईलाई पैसाको विषयमा विवाद हुँदा फलामको ह्यामरले टाउकोमा हिर्काएको स्वीकार गरेका मृतककै कान्छो छोरा लक्ष्मण राईलाई जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले सार्वजनिक गरेको हो ।

आफ्नै घरमा टाउकोमा चोट लागेको अवस्थामा फेला परेकी बडालक्ष्मीको स्थानीयले अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । प्रहरीले मृतकका छोरा लक्ष्मण राईलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा राईले पैसाको विषयमा वादविवाद हुँदा फलामको ह्याम्मरले टाउकोमा हिर्काएको र सोही कारण बडालक्ष्मीको मृत्यु भएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत सोलुखुम्बुले १० दिनको म्याद थप गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button