तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा व्यापारी हत्याका अभियुक्त सार्वजनिक

बैतडी । बैतडीको सन्सेरीमाण्डौँका व्यापारी हत्या प्रकरणमा पक्राउ परेका व्यक्तिहरूलाई प्रहरीले आज सार्वजनिक गरेको छ । 

पक्राउ परेका सात जना मध्ये तीन जनालाई सोधपुछपछि छोड्दै चार जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

हत्यामा संलग्न रहेको आरोपमा सुर्नया गाउँपालिका वडा न. ५ हरिचन निवासी २६ वर्षीय रामबहादुर मडै, सुर्नया ४ का हरिस सिंह महरा, होटेल साहु राम बहादुर महरा र संकरसिंह महरालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।  

रातिको समयमा मदिरा सेवन गरेका उनीहरूले मृतक कमले महरालाई फलामको रडले हानेर हत्या गरेको प्रहरी सामु स्वीकार गरेका छन् । 

घटनाको विषयमा थप अनुसन्धान भइरहेको बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताउनुभयो । 

प्रहरीले मदिराका कारण झगडा भएको बताए पनि मृतकको परिवारले भने पैसाका कारण हत्या गरेको आशङ्का गरेछन् । 

मृतक महरासँग त्यस दिन नौ लाखभन्दा बढी नगद रकम साथमै भएकाले हत्या गरी रकम लुटेको हुनसक्ने परिवारजनलाई उद्धृत गर्दै स्थानीय गणेश मडैले बताउनुभयो । 

अपाङ्गता भत्ता कार्यक्रमलाई निरन्तरता
बैतडीको सुर्नया गाउँपालिकाले अपाङ्गता भत्ता कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिने भएको छ । 

(क) वर्ग र (ख) वर्गका व्यक्तिहरूलाई सङ्घीय सरकारले सामाजिक सुरक्षा भत्ता दिने गरेकोमा (ग) र (घ) वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई गाउँपालिकाले केही रकम भत्ताका रुपमा वितरण गर्ने गरेको छ । 

गत आर्थिक वर्षमा (ग) र (घ) वर्गका अपाङ्गता भएका व्यक्तिहरूलाई ३ हजार र ३५ सयका दरले भत्ता वितरण गरिएको गाउँपालिका उपाध्यक्ष लीला विष्टले बताउनुभयो । 

यस वर्गका अपाङ्गताको परिचय पत्र बनाए पनि उनीहरूका लागि भत्ताको व्यवस्था नभएको हुँदा पालिकाले केही रकम दिन सुरु गरेको उहाँले बताउनुभयो । 

उक्त कार्यक्रमलाई यसबर्ष पनि निरन्तरता दिन तथ्याङ्क सङ्कलन गरिरहेको उहाँले बताउनुभयो । 

गत आर्थिक वर्षमा गाउँपालिका भित्रका १ सय ६० जनाले पालिकाबाट भत्ता पाएको गाउँपालिका स्तरीय अपाङ्गता समितिका सचिव निर्मला चन्दले बताउनुभयो । 

पहिलाको तुलनामा यसपालि अपाङ्गता परिचय पत्र बनाउने व्यक्तिहरू थप भएको उहाँले बताउनुभयो । 

हालसम्म ग र घ वर्गमा ६० जना थप भएको गाउँपालिकाले जनाएको छ । 

सुर्नया गाउँपालिकामा अपाङ्गता परिचय पत्र वितरणको काम निरन्तर रुपमा चलिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button