पोखरामा कुकुर दर्ता तथा पालन अनुमति पत्र वितरण अभियान सुरु

कास्की । नेपालमै पहिलो पटक पोखरा महानगरपालिकाबाट कुकुर दर्ता अभियान सुरु गरेको छ । कुकुर दर्ता तथा पालन अनुमति पत्र वितरण सुरु गरेको छ ।
पोखरा महानगरपालिकाले कुकुरलाई पाल्ने तर सडकमा छाडा छोड्ने व्यक्तिलाई ५ देखि १५ हजारसम्म जरिवाना तिराउने जनाएको छ । महानगरपालिका वडा नम्बर ८ बाट कुकुर दर्ता र पालन अनुमति पत्र वितरणको शुभारम्भ गरेको छ ।
पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ र महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले एक कार्यक्रमका बीच शुभारम्भ गर्नु भएको छ । अब देखि वडामा कुकुर दर्ता भएका कुकुरलाई सार्वजनिक ठाउँमा छाडन पाइने छैन भने दिसा पिसाब गराए जरिवाना लगाइने वडा अध्यक्ष रुदनाथ बरालले बताउनुभयो ।
‘वडाले दर्ता प्रमाणपत्रसँगै कुकुरलाई ट्याग लगाउन थालेको छ । ट्याग लगाएको कुकुर कसको हो भन्ने जानकारी हुने र त्यस आधारमा मालिकलाई कारबाही हुन्छ ।’ महानगरको वडा र पशु सेवा शाखाको आयोजनामा पहिलो पटक नेपालमै यस्तो कार्यक्रमको सुरुवात भएको दाबी वडा अध्यक्ष बरालले दाबी गर्नुभयो । ‘यो कार्यक्रमलाई कडाइका साथ कार्यान्वयन गछौँ । कुकुरको दिसा पिसाबले मानव स्वास्थ्यमा प्रभाव पार्छ ।’
कार्यक्रमको शुभारम्भ गदै उपप्रमुख मञ्जुदेवी गुरुङले सुन्दा र हेर्दा यो कार्यक्रम सामान्य लागे पनि महत्त्वपूर्ण रहेको बताउनुभयो । यो मानवको स्वास्थ्य र सुरक्षासँग सम्बन्धित रहेको बताउँदै भन्नुभयो,‘सभ्य नागरिक भएको सहरको परिचय यसले दिने छ । सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।’ उहाँले कुकुरलाई खुल्ला स्थानमा दिसा पिसाब गराउन नपाइने बताउँदै जनावरको पनि अधिकार हुन्छ । कुकुरको दिशा पिसाबले मानव स्वास्थ्यमा पार्ने गम्भीर रोगहरू लाग्ने हुँदा यसमा हामी गम्भीर रुपमा लागेका हौ । उहाँले भन्नु भयो घरमा पाल्ने कुकुरलाई हामीहरूले परिवारकै सदस्यका रुपमा पाल्ने भएकाले व्यवस्थित रुपमा पाल्न आग्रह गर्नुभयो ।
उहाँले कुकुरलाई नियमित रुपमा रेबिज विद्धको खोप लगाउनुपर्नेमा जोड दिनुभयो । ‘रेबिज कुकुरबाट सर्ने भएकाले यसलाई नियमित रेबिज विरुद्धको खोप लगाउने र व्यवस्थित रुपमा पालन गर्नुपर्छ ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले यो कार्यक्रम राम्रो रहेको बताउँदै यसले सडक फोहोर अन्त्य गर्ने र वातावरण सफा हुने बताउनुभयो । दर्ता गरेर कुकुरलाई व्यवस्थित रुपमा पाल्दा विवरण अद्यावधिक गर्दा पशु सेवा शाखाले ताकेता गर्ने र रेबिज विरुद्धको खोप लगाउन सहज हुने बताउनुभयो ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रमुख केदारराज पाण्डेले रेबिजका कारण नेपालमा हरेक वर्ष २ सय जनाको मृत्यु हुने गरेको बताउँदै यसको लक्षण देखेपछि बचाउन नसकिने बताउनुभयो । रेबिज विरुद्धको खोप निःशुल्क रहेको बताउँदै फ्याउरो र स्यालबाट कुकुरमा रेबिज सर्ने बताउँदै छाडा कुकुरको कारण घरपालुवा कुकुरमा सर्ने भएकाले रेबिज विरुद्धको खोप वर्षमा एक पटक लगाउन आग्रह गर्नुभयो । कार्यक्रममा कुकुरलाई निःशुल्क रेबिज विरुद्धको खोप लगाउने अभियानको समेत शुभारम्भ गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्